२०८२ कार्तिक ९ गते

तीन महिनामा करिब चार खर्बको व्यापार घाटा

बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्मको तथ्यांकअनुसार नेपालले करिब रु. चार खर्ब बराबरको व्यापार घाटा बेहोरेको छ।

भन्सार विभागले आज सार्वजनिक गरेको विवरणअनुसार, यस अवधिमा नेपालले रु. ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख बराबरको आयात गरेको छ भने रु. ७२ अर्ब ७८ करोड २८ लाख बराबरको मात्र निर्यात भएको छ। यसरी कुल रु. ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाखको वैदेशिक व्यापारमा रु. ३ खर्ब ९५ अर्ब ३० करोड घाटा देखिएको छ।
 
छिमेकी मुलुक भारतसँगको व्यापारमा रु. २ खर्ब ५८ अर्ब ८७ करोड ८२ लाखको आयात र रु. ५९ अर्ब १२ करोड ८३ लाखको निर्यात हुँदा रु. १ खर्ब ९९ अर्ब ७४ करोड बराबरको घाटा भएको छ। चीनसँगको व्यापार घाटा रु. १ खर्ब ४ अर्ब ७० करोड रहेको छ। चीनबाट रु. १ खर्ब ४ अर्ब ८९ करोडको आयात हुँदा मात्र रु. १८ करोड ६४ लाखको निर्यात भएको छ।
 
नेपालले सबैभन्दा बढी व्यापार नाफा डेनमार्कसँग गरेको छ। यस अवधिमा डेनमार्कबाट रु. ४ करोड १ लाखको आयात हुँदा रु. २८ करोड ९९ लाखको निर्यात भएको छ, जसबाट कुल रु. २४ करोड ९८ लाख ३० हजारको व्यापार नाफा भएको छ। जर्मनी, रोमानिया, स्वीडेन र लेबनानसँग पनि नेपालले राम्रो व्यापार नाफा गरेको तथ्यांक देखिएको छ।
 
पछिल्लो तीन महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ। यस अवधिमा रु. १६ अर्ब ७८ करोड ८७ लाखको पेट्रोल, रु. २० अर्ब ६९ करोड ४५ लाख बराबरको डिजेल र रु. १३ अर्ब ९८ करोड १९ लाखको एलपी ग्यास आयात भएको छ। साथै, रु. १३ अर्ब ६२ करोड ७५ लाख बराबरको स्मार्टफोन आयात गरिएको छ।