
बैंकिङ खबर/ नेपाल चेम्बर अफ कमर्सले सरकारले निर्यातमा दिँदै आएको सहुलियत अनुदान बन्द नगर्न आग्रह गरेको छ।
चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल नेतृत्वको पदाधिकारी र कार्यसमिति टोलीले शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हासँग सिंहदरबारमा भेटवार्ता गर्दै यस्तो आग्रह गरेको हो।
भेटवार्ताका क्रममा चेम्बरले आन्तरिक उत्पादनहरू अझै प्रतिस्पर्धी हुन नसकेको र उत्पादन लागत उच्च भएको अवस्थामाअनुसार अनुदान बन्द गर्ने निर्णयले निर्यात क्षेत्र निरुत्साहित हुने जनाएको छ।
जारी विज्ञप्तिमा अर्थतन्त्रका विद्यमान समस्या समाधान गर्न, लगानीकर्ताको मनोबल उकास्न र नीतिगत सहजता प्रदान गर्न सरकारसँग माग गरिएको छ।
चेम्बरले वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखी औद्योगिक तथा व्यावसायिक सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरेको छ।



