२०८२ आश्विन १७ गते

दशैं दक्षिणासँगै बालबालिकालाई सिकाऔं वित्तीय शिक्षा

बैंकिङ खबर/ नेपालमा दशैं धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण पर्व हो। परिवारका सदस्य, नातागोता र आफन्तबीच भेटघाट, मायाप्रेम र आशीर्वाद आदानप्रदान गर्ने अवसरका रूपमा दशैंलाई लिइन्छ। यस पर्वको मुख्य आकर्षण भनेको टीका-जमरा र दक्षिणा हो। हजुरबा, हजुरआमादेखि लिएर बुबा-आमासम्मले बालबालिकालाई आशीर्वादसँगै दक्षिणा दिने परम्परा नेपालमा लामो समयदेखि जीवित छ।

दक्षिणा केवल पैसाको स्वरूपमा दिइने उपहार मात्र होइन, यसले मायाको प्रतीक, संस्कृतिको निरन्तरता र भविष्यको सम्भावनाको संकेत पनि बोकेको हुन्छ। तर, प्रायः दशैंमा पाएको दक्षिणा बालबालिकाले तुरुन्तै मिठाई, खेलौना वा सजिलै सकिने वस्तुमा खर्च गर्छन्। यसरी खर्च हुने पैसाले तत्काल खुशी त दिन्छ तर दीर्घकालीन लाभ भने हुँदैन। यदि यही दक्षिणालाई सही दिशामा प्रयोग गर्ने बानी बसाल्न सकियो भने यो बालबालिकाको भविष्यका लागि अमूल्य शिक्षा बन्न सक्छ ।

आजको संसारमा वित्तीय शिक्षा जीवनको अपरिहार्य हिस्सा बनिसकेको छ। पैसाको मूल्य बुझ्ने, खर्चको योजना बनाउन सक्ने, बचत र लगानीको महत्व थाहा पाउने जस्ता आधारभूत सीपले व्यक्तिलाई भविष्यमा जिम्मेवार नागरिक बन्न सहयोग गर्छ। तर यस्तो शिक्षा अझै नेपालमा वि‌द्यालयस्तरमै पर्याप्त रूपमा समेटिएको छैन। यसकारण घरपरिवारकै वातावरणमा, विशेष गरी दशैंजस्ता अवसरलाई प्रयोग गरेर बालबालिकामा वित्तीय चेतना जगाउनु सबैभन्दा उपयुक्त उपाय हो। ↓

दशैंमा दक्षिणा पाउनु बालबालिकाका लागि खुशी र उत्साहको विषय हुन्छ। तर त्यसैसँगै उनीहरुलाई पैसाको उपयोग कसरी गर्ने भन्नेबारे सोच्न अभ्यस्त गराउन सकिए वित्तीय शिक्षाको पहिलो पाइला सुरु हुन्छ। सानो उमेरमै पाएको पैसालाई बचत गर्ने, प्राथमिकता निर्धारण गरेर खर्च गर्ने र केही भाग अरुलाई सहयोग गर्ने मानसिकता विकास गर्न सकियो भने त्यही संस्कार भविष्यमा ठूला निर्णय लिन उपयोगी हुन्छ।

नेपालका धेरै वित्तीय संस्थाहरूले अहिले बालबालिकाका लागि विशेष बचत खाता सञ्चालन गरिरहेका छन् । अभिभावकले दशैंमा पाएको दक्षिणा त्यस्ता खातामा जम्मा गरिदिने हो भने त्यो केवल रकम जम्मा गर्नु मात्र हुँदैन, बालबालिकाले बैंकिङ प्रणालीबारे व्यावहारिक ज्ञान पनि पाउँछन्। बैंकमा जम्मा गरिएका पैसाले ब्याजमार्फत वृद्धि हुने प्रक्रिया देख्दा उनीहरुलाई पैसाको मूल्य बुझ्न सजिलो हुन्छ। यसरी दशैंको दक्षिणाबाट सुरु भएको सानो बचत भविष्यमा ठूलो सहारा बन्न सक्छ।

वित्तीय विज्ञहरुको भनाइमा सानै उमेरदेखि बचत र अनुशासित खर्चको बानी बसाल्न सकियो भने भविष्यमा व्यक्ति आर्थिक संकटमा कम फस्छन्। ऋणमा निर्भर हुने सम्भावना घट्छ र आफ्ना सपना पूरा गर्न सजिलो हुन्छ। नेपालमा अहिले देखिएको उपभोगमुखी संस्कृतिलाई सन्तुलित बनाउन पनि बालबालिकालाई वित्तीय शिक्षा अनिवार्य छ। दशैंको अवसरमा पाएको दक्षिणा यसतर्फ लाग्ने सबैभन्दा प्राकृतिक र प्रभावकारी माध्यम बन्न सक्छ।

अभिभावकको भूमिका यसमा विशेष हुन्छ । बालबालिकालाई केवल दक्षिणा थमाएर जिम्मेवारी सकिएको ठान्नु पर्याप्त हुँदैन । अभिभावकले उनीहरुसँग बसेर दक्षिणा कत्तिको हो, त्यसलाई खर्च गर्ने, कति बचत गर्ने भनेर योजना बनाउन सिकाउनु पर्छ। बालबालिकालाई सानै उमेरदेखि वित्तीय अनुशासन सिकाउने हो भने भविष्यमा उनीहरूले आफ्नो पढाइ, स्वास्थ्य, रोजगारी वा उद्यमशीलतामा सजिलै लगानी गर्न सक्ने क्षमतावान नागरिक बन्न सक्छन्।

दशैंको दक्षिणालाई वित्तीय शिक्षा संगसँगै सामाजिक चेतनासँग पनि जोड्न सकिन्छ। पैसा केवल आफ्नै आवश्यकतामा मात्र होइन, अरुलाई सहयोग गर्न पनि प्रयोग गर्न सकिन्छ भन्ने कुरा सिकाउन सकिन्छ। दशैंमा पाएको केही रकम कुनै सामाजिक कार्यमा प्रयोग गर्न प्रेरित गरियो भने बालबालिकाले समाजप्रतिको जिम्मेवारी पनि महसुस गर्छन्। यसरी दक्षिणा केवल व्यक्तिगत खर्च होइन, सामूहिक भलाइमा प्रयोग हुने स्रोत बन्न सक्छ।

विद्यालय र शिक्षकको भूमिका पनि यसमा महत्त्वपूर्ण हुन्छ । दशैंपछि विद्यार्थीलाई “तिमीहरुले दक्षिणा कसरी खर्च गर्यो?” भन्ने अभ्यास गराउन सकिन्छ। कतिले बचत गरे, कतिले किताब किने, कतिले सजिलै सकिने मिठाइमा खर्च गरे भन्ने अनुभव साटासाट गर्दा विद्यार्थीहरूलाई पैसाको मूल्यबारे थप सिक्न सजिलो हुन्छ ।

समाजकै स्तरमा पनि यसबारे चेतना फैलाउन सकिन्छ। टोल, वडास्तरमा बालबालिका लक्षित बचत अभियान सञ्चालन गर्न सकिन्छ। बैंक तथा सहकारी संस्थाले दशैंपछिको दक्षिणा जम्मा गर्ने विशेष कार्यक्रम ल्याउन सक्छन्। यसरी सामूहिक पहल भएमा दशैं वित्तीय चेतनाको अभियान बन्न सक्छ।

दशैंले दिने खुशी, मायामाया र संस्कृतिसँगै दक्षिणा केवल संस्कार मात्र होइन, भविष्य निर्माणको आधार वित्तीय चेतना पनि जोड्न सकियो भने त्यो पुस्तागत रूपमा अमूल्य सम्पत्ति हुनेछ। हामीले बालबालिकालाई दशैंमा केवल मिठाइ वा खेलौना दिनु मात्र होइन, जिम्मेवार भविष्यको बाटो देखाउने जिम्मेवारी पनि लिनुपर्छ।

यस वर्षको दशैंमा बालबालिकालाई टीका-जमारासँगै वित्तीय चेतनाको उपहार दिऔं। उनीहरूको दक्षिणालाई सही दिशामा प्रयोग गर्न सिकाऔं। यो अभ्यासले उनीहरूलाई जीवनभर साथ दिनेछ र भविष्यमा सक्षम, अनुशासित र आत्मनिर्भर नागरिक बनाउनेछ ।