बैंकिङ खबर/ दशैं हिन्दु नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो । यो केवल धार्मिक विधिविधानमा सीमित नभई परिवार एकत्रित हुने, खुसी साट्ने र भविष्यप्रति संकल्प गर्ने अवसर पनि हो ।
दशैंमा बुबा–आमा, दाजु–भाइ, दिदी–बहिनी वा हजुरबा हजुरआमाबाट आशीर्वादसँगै बालबालिकाले नगद पाउने परम्परा छ । पचास, सय, पाँच सय वा हजार रुपैयाँसम्म बालबालिकालाई दिनु सामान्य चलन हो ।
तर, त्यो पैसा प्रायः मिठाइ, खेलौना वा सजिलै सकिने वस्तुमा खर्च हुन्छ । यदि यही नगदलाई व्यवस्थित ढंगले प्रयोग गर्ने परम्परा सुरु गरियो भने दशैंले बालबालिकाको आर्थिक भविष्य सुरक्षित गर्ने नयाँ संस्कारको थालनी गर्न सक्छ।
नेपालको बैंकिङ प्रणाली अहिले देशैभर फैलिएको छ। मोबाइल बैंकिङ, डिजिटल वालेटदेखि गाउँगाउँसम्म सहकारी र वित्तीय संस्थाहरू सक्रिय छन्। तर, बालबालिकाको नाममा खाता खोल्ने अभ्यास अझै न्यून देखिन्छ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार, नेपालमा जनसंख्याभन्दा बढी बैंक खाता भएपनि तीमध्ये बालबालिकाको नाममा सक्रिय खाता निकै कम छ। बालबालिकाका लागि लक्षित बचत खाता योजना धेरै बैंकले ल्याएका छन्– जस्तै ’बाल बचत खाता’, ’फ्युचर स्टार्स’ वा ’किड्स सेभिड्स’।
यी योजनामा न्यूनतम रकममै खाता खोल्न सकिन्छ, ब्याजदर आकर्षक हुन्छ र बालबालिकाको भविष्यलाई लक्षित गरी अतिरिक्त सुविधा पनि दिइन्छ । तर, यी योजनाहरु सामाजिक–सांस्कृतिक परम्परासँग जोडिन नसक्दा व्यापक अभ्यासमा आउन सकेका छैनन् ।
दशैंजस्तो ठूलो पर्वमा बच्चालाई दिइने नगदलाई नै प्रारम्भिक आधार मानेर खाता खोल्ने परम्परा सुरु गर्न सकिन्छ । बालबालिकाले दशैंमा पाएको रकम आफ्नै नाममा रहेको बैंक खातामा जम्मा भइरहेको देख्दा उनीहरूमा पैसाको मूल्य बुझ्ने, बचत गर्ने र भविष्यप्रति सचेत हुने बानी बस्छ ।
यसरी जम्मा भएको रकम ठूलो पूँजीमा परिणत हुन्छ, जुन उनीहरुको पढाइ, स्वास्थ्य वा भविष्यको योजनामा उपयोगी हुन्छ। नेपालमा दशैंका समयमा मात्र अरबौँ रुपैयाँको आर्थिक गतिविधि हुने गर्छ। बजारमा किनमेल, ग्रामीण क्षेत्रमा नगदको लेनदेन र शहरी क्षेत्रमा उपभोग खर्च उच्च हुने देखिन्छ । तर, यही समयलाई आर्थिक सचेतनाको पर्व बनाउने हो भने ठूलो परिवर्तन सम्भव छ ।
दशैंलाई केवल उपभोगमा सीमित नगरी आशीर्वादसँगै बचत गर्ने संस्कार विकास भयो भने, त्यो व्यक्तिगत मात्र नभई सामूहिक रूपमा समाजलाई दीर्घकालीन लाभ दिनेछ ।
बालबालिकाको खाता खोल्न ठूलो रकम आवश्यक पर्दैन । दशैंमा दिइने नगद रकम नै पर्याप्त आधार बन्न सक्छ। बैंकहरूले पनि यदि दशैं विशेष अभियान ल्याएर बालबालिकाको खातामा बोनस दिने, पुरस्कारका योजना बनाउने वा परिवारलाई प्रोत्साहन गर्ने काम गरे भने यो अभ्यास झन् लोकप्रिय बन्नेछ ।
विद्यालय र समुदायले पनि अभिभावकलाई सचेत गराउँदै दशैंमा पाएको रकम बैंकमा जम्मा गर्न प्रोत्साहित गर्न सक्छन् । यसरी गर्दा बालबालिकामा सुरुदेखि नै वित्तीय साक्षरता विकास हुन्छ र उनीहरू भविष्यमा सचेत नागरिकका रुपमा उभिन्छन् ।
यद्यपि, यस अभ्यासलाई प्रोत्साहन गर्ने बाटोमा केही चुनौती छन् । ग्रामीण क्षेत्रमा अझै पनि धेरै परिवारले बैंकिङलाई ठूलो मानिसको कुरा भनेर हेर्ने प्रवृत्ति छ। कतिपय परिवारमा दशैंमा पाएको नगद तत्काल खर्चिने आवश्यकता हुन्छ, जसलाई बचततर्फ मोड्न सजिलो छैन।
तर, यदि बैंकिङ सेवा अझ सहज, सरल र आकर्षक बनाइयो भने यी चुनौतीहरूलाई समाधान गर्न सकिन्छ। सरकारले समेत बालबालिकाको खातामा जम्मा हुने रकमलाई प्रोत्साहन गर्ने कर छुट वा प्रोत्साहन योजना ल्यायो भने यो अभियान छिट्टै समाजमा स्थापित हुन सक्छ।
दशैंको जमरा जीवन र हरियालीको प्रतीक मानिन्छ। त्यस्तै, दशैंको दक्षिणाबाट सुरु हुने बालबालिकाको बैंक खाता भविष्यको सुरक्षाको प्रतीक बन्न सक्छ। बच्चालाई दिइएको नगद तत्काल खर्च नभई दीर्घकालीन लगानीमा परिणत हुने हो भने त्यो आशीर्वाद अझ गहिरो अर्थ बोकेको हुन्छ ।
यसैले अब समय आएको छ, दशैंलाई केवल रमाइलो र खर्चको पर्व नभई आर्थिक सचेतनाको पर्व बनाउन। यदि हामीले दशैंको दक्षिणाबाट बालबालिकाको बैंकिङ खाता सुरु गर्ने परम्परा बसाल्यौं भने, त्यो केवल एक पुस्ताको मात्र नभई सम्पूर्ण समाजको भविष्यलाई सबल र सुरक्षित बनाउने आधार हुनेछ।