
सागर पौडेल
म्युचुअल फण्ड अर्थात् सामुहिक लगानी कोष पोर्टफोलियो व्यवस्थापकद्वारा व्यवस्थापन र संचालन गरिने एक प्रकारको लगानी योजनासहितको संस्थागत लगानीकर्ता हो ।
जसले स–साना लगानीकर्ताबाट संकलित ठूलो कोषलाई लगानी विविधीकरण र जोखिम न्यूनीकरणको सिद्धान्तमा रहि उच्चतम प्रतिफल प्राप्त हुने वित्तीय बजारका विभिन्न उपकरणहरु जस्तै सेयर, बण्ड, सरकारी धितोपत्र, बैंक तथा वित्तीय संस्थाहरुका बचत उपकरणहरु तथा विभिन्न वित्तीय सम्पत्तिहरु आदिमा लगानी गर्दछ्न ।
विश्वको इतिहासलाई फर्केर हेर्दा सन् १७७४ मा नेदरल्यान्ड्सबाट म्युचुअल फण्डको सुरुवात भएको थियो । सर्वप्रथम यस्तो लगानी योजनाको सुरुवात अब्राहम भान केटबीच नामको व्यापारीले गरेको पाइन्छ । नेपालमा म्युचुअल फण्ड वि.स. २०५० मा एनआईडीसी क्यापिटल मार्केट्स लिमिटेडले औपचारिक रूपमा म्युचुअल फण्डलाई वित्तीय बजारमा ल्याएसँगै यसको सुरुवात भएको पाइन्छ ।
त्यस्तै इन्भेष्टमेन्ट ट्रष्टको अवधारणा बमोजिम नागरिक लगानी कोषले वि.स. २०५२ मा सिटिजन यूनिट स्किम नामको योजना संचालनमा थियो ।
त्यसपछि नेपालमा विशेषगरी संस्थागत लगानीकर्ताको रूपमा विभिन्न वाणिज्य बैंकका सहायक कम्पनीहरुले म्युचुअल फण्ड संचालन गर्दै कोष परिचालन गरेको पाइन्छ।
नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डको प्रभावकारिता अभिवृद्धिका लागि नियामकीय भूमिकाको अधिकार प्राप्त गरेको छ । जसलाई प्रभावकारी बनाउन सामूहिक लगानी कोष नियमावली र सोही नियमावलीले दिएको अधिकारको प्रयोग गरि नेपाल धितोपत्र बोर्डले सामुहिक लगानी कोष निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ ।
यस नियमावलीले भएको व्यवस्था बमोजिम म्युचुअल फण्ड अन्र्तगत सञ्चालन गरिने योजनाका इकाइहरुको प्रति इकाइ मूल्य रु.१० र कम्तीमा १०० इकाई खरिद गर्नु पर्नेछ । कुनै व्यक्तिले रु. १००० मा नै लगानी गर्न सक्नेछ ।
सामान्यतया खुलामुखी (ओपन इन्डेड) र बन्दमुखी (क्लोज इन्डेड) दुई प्रकारका लगानी योजना संचालनमा रहेका छन् । खुलामुखी योजना समयअबधि नतोकी संचालन गरिने योजना हो ।
यस योजनामा खुद सम्पत्ति मूल्यको आधारमा योजना व्यवस्थापकले नै योजनाको इकाईको जुनसुकै समयमा खरिद बिक्री गर्न सक्ने सुबिधा उपलब्ध गरेको हुन्छ । साथै लगानीकर्ता जुनसुकै समयमा पनि सहभागी हुन सक्छन् । यस प्रकारको योजनामा अधिक तरलताको गुण हुन्छ ।
बन्दमुखी योजना निश्चित समय अबधि र निश्चित परिमाण तोकी संचालन गरिने योजना हो । यस प्रकारको योजनामा एकपटक इकाई जारी गरिसके पछि तोकिएको समय अबधि भर सो योजना अन्तर्गत अरु थप इकाईहरु जारी गरिँदैन । समय अवधि पुरा भएपछि लगानीकर्ताहरुलाई रकम फिर्ता गरिन्छ ।
पोर्टफोलियो व्यवस्थापनको सिद्धान्त अनुसार विभिन्न धितोपत्रहरुमा लगानी गरी प्राप्त प्रतिफल लगानीकर्ताहरुलाई नै वहन इकाईको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ र त्यसैबाट वार्षिक रुपमा व्यवस्थापन शुल्क लिने गरिन्छ ।
विशेषगरी म्युचुअल फण्डमा धेरै साना–साना लगानीकर्ता, सेयर बजारको पर्याप्त प्राविधिक ज्ञान नभएका र कम जोखिममा सुरुमा सेयर बजारमा प्रवेश गर्ने लगानीकर्ता, लगानी सम्बन्धि ज्ञान भएपनि लगानी योग्य बचतको अभाव भइ लगानी विविधिकरण गर्न नसक्ने लगानीकर्ता, समय अभावको कारण वित्तीय बजारको विश्लेषण गर्न नसक्ने लगानीकर्ताहरुलाई म्युचुअल फण्ड लगानीको उपयुक्त माध्यम हो।
मुलुकको पुँजी बजारको विकाससँगै दीर्घकालीन पुँजी निर्माण बाट उत्पादनमूलक लागानी गर्न म्युचुअल फण्डको प्रभावकारिता अपरिहार्य रहेको छ ।
देशमा उद्यमशील संस्कृतिको विकास भएको छैन । नागरिकहरु रोजगार पेशामा नै आवद्ध भएको हुँदा उनिहरुको आम्दानी तथा बचत थोरै हुन्छ जसले गर्दा लगानीको ज्ञान तथा थोरै बचतले लगानी विविधिकरण गर्न सक्दैनन् । तसर्थ उपभोग्य खर्चमा वृद्धि हुन गइ न्यून पूँजी निर्माण हुने हुँदा नेपालमा म्युचुअल फण्डका योजनाहरु संचालनमा प्रवद्र्धन गर्नु आवश्यक छ । म्युचुअल फण्ड संचालने वचतलाई अल्पकालीन र दीर्घकालीन वित्तीय उपकारणहरु मार्फत लगानीको अवसर प्रदान गर्दछ ।
मुलुकमा न्यून आए भएका तथा रोजगारीमा मात्र संलग्न भएका नागरिकहरुले भबिस्यमा आउन सक्ने समस्याहरु तथा सुरक्षाको लागि वर्तमानमा प्राप्त आयको केहि अंश बचत गरि राख्ने प्रवृत्ति छ । तसर्थ खुलामुखी (ओपन इन्डेड) म्युचुअल फण्ड संचालनलाई प्रबद्र्धन गर्न आवश्यक हुन्छ । जसले गर्दा जुनसुकै समयमा लगानीकर्ताका इकाईहरु खरिद बिक्री गर्न सक्ने सुबिधाले यस प्रकारको योजनामा तरलता बढी हुन्छ ।
साथै लगानीकर्ताको बचत चाहेको बेला बैंक बाट रकम झिके जसरी नगदमा परिणत गर्न सकिन्छ भने अर्थतन्त्रमा पूँजी निर्माण हुने र लगानीकर्ताको बचतले आम्दानी समेत वृद्धि गर्दछ । नेपालको सन्दर्भमा हेर्नेहो भने खुलामुखी योजना संचालनको इतिहास धेरै लामो छैन र संचालनमा ल्याइएका योजनाहरु पनि प्रभाकारी बन्न सकेका छैनन् ।
सिमित तथा न्यून आय भएको व्यक्तिहरुको बचत प्राविधिक तथा व्यवसायिक ज्ञान अभावमा सिँधै धितोपत्र बजारमा कारोबार गर्दा लगानी डुब्न् सक्ने हुन सक्छ । म्युचुअल फण्डका योजना संचालकहरुले पोर्टफोलियो व्यवस्थापनको सिद्धान्तमा रहि लगानी विविधता गर्ने हुँदा इकाई धनीहरुको लगानीमा न्यून जोखिम रहन्छ ।
पछिल्लो समयमा नेपालमा धितो पत्र बजारप्रती सर्वसाधारण नागरिकको आकर्षण बढेको देखिन्छ । जसमा लगानीकर्ताहरु प्राथमिक र द्वितीय बजारका शेयर कारोबारमा अधिक केन्द्रीकृत भएको देखिन्छ । न्यून आय भएका वर्गमा वित्तीय साक्षरताको अभावले गर्दा सिमित लगानीकर्ताले मात्र म्युचुअल फन्ड बाट लाभ प्राप्त गरेका छन् ।
तसर्थ, म्युचुअल फन्डले लगानीकर्ताको लगानीलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरि वित्तीय लाभ प्रदान गर्दछ । पूँजी बजारका उपकरणहरुको विस्तार गरी उत्पादनमूलक र वास्तविक क्षेत्रलाई पूँजी बजारमा भित्र्याउन समेत म्युचुअल फण्डको भूमिका रहेको हुन्छ ।
आर्थिक, सामाजिक, राजनीतिक, कानुनी सुधार तथा कम लागतमा उत्पादनका साधनहरु उपलब्धताको कारण देशले आर्थिक विकासको गति लिइरहेको स्थितिमा विदेशी लगानीकर्ताहरु नेपालको अर्थतन्त्रमा आकर्षित भएको देखिन्छन् । म्युचुअल फण्डको विकास, बिस्तार एबं प्रबद्र्धन गर्न सकेमा स्वदेशी लगानीकर्ताहरु लाई प्रोत्साहन गरेर देशको अर्थब्यबस्थालाई मजबुत बनाउदै उत्पादन, रोजगारी, लगानी तथा बचतमा वृद्धि गर्न सकिन्छ ।
म्युचुअल फण्डले संगठित धितोपत्र बजारको बिकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । म्युचुअल फण्डलाई प्रोत्साहन गर्न संचालन गरिने योजनाको आम्दानीमा आय कर छुट, इकाई धनीलाई प्रदान गरिने लाभांशमा कर नलाग्ने, इकाई धनीहरुले आफ्नो कर योग्य आयबाट म्युचुअल फण्डमा गरेको वार्षिक लगानीको निश्चित रकम घटाउने व्यवस्था तथा इकाईको कारोबारमा हुने पुँजीगत लाभ कर समेत न्यून हुनु पर्दछ ।
नेपाली धितोपत्र बजारमा आजकल धितोपत्रको बजार मूल्य अस्वभाविक रूपमा उतारचढाव हुने गर्दछ । बजारमा सामान्य आर्थिक सूचकहरुको परिवर्तन हुँदा पनि धितोपत्र बजारलाई प्रत्यक्ष असर गरेको देखिन्छ । तस्तै सट्टेबाजी लगानीकर्ता पनि धितोपत्र बजारको मूल्यमा उतारचढाव ल्याएको देखिन्छ ।
म्युचुअल फण्ड धितोपत्र बजारको मुख्य संस्थागत लगानीकर्ता भएको हुँदा प्राबिधिक तथा वित्तीय ज्ञान दुबै हुनाले यस्तो समयमा उचित प्रतिफल प्राप्त गर्न सकिने गरि उचित वित्तीय निर्णय गर्न सक्छ ।
साना लागनीकर्ताहरु लाई म्युचुअलफण्ड मार्फत धितोपत्र बजारको धारमा ल्याउन विभिन्न कानूनी तथा प्राबिधिक जटिलताहरुलाई न्यूनीकरण गरी वित्तीय साक्षरता अभिवृद्धि गर्नु पर्दछ । लगानीकर्ताहरुलाई वास्तविक म्युचुअल फण्डको सेवा समेत उपलब्ध गराउनु पर्दछ ।
लगानीकर्ताहरुलाई आफ्नो लगानी प्रती विस्वासनीयता तथा सुरक्षा कायम गराउँदै लगानी प्रक्रिया लाई थप सरलीकरण गर्नुपर्छ । अतः स्वच्छ, प्रतिस्पर्धी र फराकिलो धितोपत्र बजार मार्फत राष्ट्रिय पुँजी निर्माण गर्न नेपालमा संस्थागत लगानीकर्ताको रूपमा म्युचुअलफण्डको अहम भुमिका रहेको देखिन्छ ।
पौडेल सिद्ध बराह मा. वि. पोखराका व्यवस्थापन संकायका शिक्षक हुन् ।