२०८२ श्रावण २ गते

घरजग्गा कारोबारमा उल्लेख्य सुधार

बैंकिङ खबर/  आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा कारोबार स्थिर रहे पनि मालपोत करमार्फत संकलन भएको राजस्व उल्लेख्य रूपमा वृद्धि भएको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत आर्थिक वर्षमा मालपोत करबाट ४९ अर्ब ५ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा झण्डै १६.७५ प्रतिशतले बढी हो।

कारोबार स्थिर, राजस्व वृद्धि

गत वर्षको तुलनामा लिखत पारितमा केवल ०.१५ प्रतिशतको वृद्धि मात्र भएको हो। २०८०/८१ मा ५ लाख ३५ हजार ६ सय ७ वटा लिखत पारित भए पनि २०८१/८२ मा यो संख्या ५ लाख ३८ हजार १२८ मा सीमित रह्यो। तर कारोबारको मूल्य उच्च रहेकाले राजस्वमा उल्लेख्य वृद्धि भएको सरकारी अधिकारीहरू बताउँछन्।

विभागका अनुसार, बजारमा उच्च मूल्य भएका क्षेत्रहरूमा कारोबार बढ्दा मूल्यको आधारमा राजस्वमा वृद्धि भएको हो। साथै, जग्गा मूल्यांकनमा पारदर्शिता आउँदा पनि राजस्व संकलनमा सुधार देखिएको छ।

असारमा मात्रै ६ अर्ब ५५ करोड राजस्व

चालु आवको अन्तिम त्रैमास, विशेषगरी असार महिनामा मालपोत राजस्वमा उल्लेख्य वृद्धि देखिएको छ। असार महिनामात्रै ६ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको असारभन्दा ४२.०२ प्रतिशतले बढी हो।

असारमा 

सेवा कर: ४२ करोड ९९ लाख

रजिस्ट्रेसन दस्तुर: ३ अर्ब ४९ करोड ७० लाख

पूँजीगत लाभकर: २ अर्ब ५६ करोड ५३ लाख

सबैभन्दा बढी राजस्व संकलन गर्ने मालपोत कार्यालयहरू
ललितपुर (लगनखेल): ६५ करोड ५२ लाख

भक्तपुर: ६४ करोड ३१ लाख

काठमाडौं (डिल्लीबजार): ५२ करोड ९४ लाख

कलंकी: ४६ करोड ३७ लाख

चाबहिल: ४२ करोड ५३ लाख

लिखत पारितमा अगाडि रहेका मालपोत कार्यालयहरू
इनरुवा (सुनसरी): २,४३० लिखत

जनकपुरधाम (धनुषा): २,३३७ लिखत

भद्रपुर (झापा): १,८६९ लिखत

बेलबारी (मोरङ): १,७४५ लिखत

भक्तपुर: १,५७२ लिखत

कारोबारमा सुधारका कारणहरू

-सरकारद्वारा भूउपयोग नियमावली संशोधन गर्दै कित्ताकाटमा लचिलो नीति

-साना जग्गाको कित्ताकाटको सीमा घटाइएको

-राष्ट्र बैंकद्वारा रियल इस्टेट कर्जामा लचकता

-ब्याजदरमा गिरावट

बैंक तथा रियल इस्टेट व्यवसायीहरूका अनुसार, पछिल्लो त्रैमासमा बैंकहरूले पनि धेरै गैर-बैंकिङ सम्पत्तिहरू बिक्री गरेका छन्। ऋण भुक्तानीमा असक्षम बनेका व्यवसायीहरूले आफन्तको माध्यमबाट घरजग्गा बिक्री गरी धितो फुकुवा गरिरहेका छन्।

रियलस्टेट व्यवसायी सुधिर लोहनीका अनुसार, कारोबारको संख्या बढे पनि व्यवसायीहरूले महसुस गर्न सक्नेगरी अझै कारोबार विस्तार भइनसकेको उल्लेखनीय छ। तर ब्याजदर घट्दै गएका र नीति लचिलो बनेका कारण आगामी महिनाहरूमा कारोबार झनै सशक्त हुने अपेक्षा गरिएको छ।