२०८२ असार ४ गते

उपकार लघुवित्तद्वारा दाङ अमिलियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

बैंकिङ खबर/ उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, केन्द्रीय कार्यालय कोहलपुरको आयोजनामा दाङको लमही नगरपालिका–९, अमिलियामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। करिब ३० जना स्थानीयको सहभागिता रहेको उक्त कार्यक्रम संचालन विभाग प्रमुख पार्वती पराजुलीको स्वागत मन्तव्यबाट सुरु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत (सीईओ) शारदा कुमारी खत्रीले उपकार लघुवित्तले लुम्बिनी प्रदेशका १२ जिल्लामा फैलिएका ३७ वटा शाखामार्फत ४३ हजार सदस्यलाई सेवा प्रदान गरिरहेको जानकारी दिइन्।

उनले संस्थाले कर्जा बचतसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत सिपमूलक तालिम सञ्चालन गरेर सदस्यहरुलाई आत्मनिर्भर र उद्यमशील बनाउने अभियानमा लागेको बताइन्। साथै, बचत संस्कारलाई आर्थिक स्थायित्वको आधार भन्दै भविष्यको सुरक्षा सुनिश्चित गर्न सबैलाई बचतमा जोड दिन आग्रह गरिन्।

कार्यक्रममा लमही नगरपालिका–९ का वडा सदस्य अम्मर वलीले लघुवित्त संस्था गाउँगाउँसम्म पुगेकोमा खुसी व्यक्त गर्दै जनताको आर्थिक समृद्धिका लागि कर्जा र बचतको संयोजनलाई आत्मसात् गर्नुपर्ने विचार व्यक्त गरे। उनले आयमूलक क्षेत्रमा मात्र कर्जा प्रयोग गर्न सुझाव दिए।

त्यसैगरी अमिलिया सामुदायिक वनका अध्यक्ष मञ्जित खड्काले कर्जा आवश्यक परेको अवस्थामा मात्र लिनुपर्ने सुझाव दिँदै, लघुवित्त संस्था यस भेगका जनतालाई आर्थिकरूपमा सक्षम बनाउन उपयोगी हुने विश्वास व्यक्त गरे। कार्यक्रमको सहजीकरण शाखा प्रमुख संजय के.सी.ले गरेका थिए।

उक्त अन्तरक्रिया कार्यक्रमले स्थानीयस्तरमा वित्तीय साक्षरताको प्रवर्द्धनसँगै आर्थिक सुधारको मार्गमा समुदायलाई सशक्त बनाउने आशा गरिएको छ।