
खेमराज ओझा
नेपालमा परापूर्वकाल देखिनै गाउँघरमा कर्जा लिँदा–दिँदा अनिवार्य जमानीमार्फत कर्जा वा लेनदेनको कारोबार हुने गरेको थियो । जमानी भन्नाले त्यो व्यक्ति जनाइन्छ, जसले अर्को व्याक्तिको तर्फबाट कुनै दायित्व पूरा नभएमा आफैँले सो दायित्व पूरा गर्ने लिखित सहमति गरेको हुन्छ ।
नेपालको लघुवित्त क्षेत्रमा ऋण प्रवाहको क्रममा प्रचलित जमानत प्रणालीले अनेकौं पक्षहरू उजागर गर्दै आएको छ। ऋण दिने बेलामा ऋणीलाई विश्वासिलो बनाउन जमानतदाताको सहारा लिने परम्परा प्रचलनमा आएको हो । तर यथार्थमा, जमानतदाताले केवल सहमतिमा हस्ताक्षर मात्र गर्ने नभइ, ऋण फिर्ता नभएमा कानुनी रूपमा ऋणी सरहको जिम्मेवारी लिनुपर्छ भन्ने गम्भीर पक्ष धेरैले बेवास्ता गर्छन् ।
‘जमानतकर्ता ऋणी सरह हो’ भन्ने कुरा मौखिक मात्र नभइ कानुनी आधार पनि हो, कानुनी र व्यवहारिक सत्य हो । विशेषतः लघुवित्तको सन्दर्भमा, जहाँ धेरैजसो ऋणीहरू आर्थिक सामाजिक तथा चेतनाको स्तर कमजोर रहेको हुन्छन् । त्यस्ता व्यक्तिलाई जमानी राख्दा कम्तीमा जमानी पूर्व जमानीकर्ता अनिवार्य पढेर सबै सर्तहरुबारे पूर्ण जानकारी गरायर मात्र जमानी राख्नु पर्दछ ।
जमानतदाताको भूमिका र कानुनी जिम्मेवारी,दायित्व बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) र नेपाल राष्ट्र बैंकका निर्देशनहरूमा स्पष्ट रूपमा भनिएको छ– यदि ऋणीले ऋण तिर्न नसकेको खण्डमा, जमानतदाताले सो ऋण फिर्ता गर्नु पर्नेछ । यो अर्थमा, ऋण फिर्ता नगरेको अवस्थामा जमानतदाताको जिम्मेवारी ऋणी सरहकै हुन्छ ।
जमानीकर्ता वित्तीय संस्थाको कर्जा लगानीको एक बलियो आधार पनि हो, यसले लगानीको लागि ऋणीप्रति विश्वास बढाउनमा सहयोग गर्छ, वित्तीय संस्थालाई आश्वस्त पार्छ,वित्तीय संस्थाको कर्जा असुलीको वैकल्पिक स्रोतको ग्यारेन्टी गर्छ । साथै वित्तीय संस्थाको जोखिम न्यूनीकरणमा सहकार्य गर्छ ।
त्यसैले जमानतकर्ताको भूमिका कर्जा असुलीको लागि एकदमै रहन्छ । वित्तीय संस्थासँग भएको सम्झौता पालना गर्नु जमानीकर्ताको कानुनी दायित्व वहन गरी जमानत दिँदा आफुले जमानत दिने कर्जाको विश्लेषण तथा दिर्घकालिन सोच बनाउनु पर्छ । साथै आफुले जमानत बसेको कर्जाको सक्रिय निगरानी राख्नुपर्छ ।
त्यस्तै समुदायमा भएको भरोसा इज्जत र सामाजिक सम्बन्ध आधारमा दिएको जमानतले नैतिक जिम्मेवारी पनि सृजना गर्ने भएकोले पनि जमानी कर्ताको कर्जा असुलीमा महत्वपूर्ण भूमिका रहन्छ ।
लघुवित्तमा जमानत प्रणालीको प्रयोग
लघुवित्त संस्थाहरू कमजोर वर्गको घर–परिवार, साना उद्यमी वा कृषि पेशामा संलग्न व्यक्तिहरूलाई लक्षित गर्दै वित्तीय सेवा प्रदान गर्छन्। यस्ता ग्राहक वर्गमा धितो राख्ने सामथ्र्य नभएकाले सामाजिक या व्यक्तिगत जमानत प्रणाली प्रयोग गरिन्छ ।
धेरैजसो अवस्थामा मानिसहरूले आफूले बुझ्न नसकी केवल आत्मीयता, नातागोता वा सामाजिक सम्बन्धको कारण जमानत दिने गर्छन्। तर जब ऋण फिर्ता हुँदैन, तब जमानतकर्ताले ऋण फिर्ता गर्नुपर्ने बाध्यता आउँछ, जसले मानसिक, आर्थिक र सामाजिक असर पार्दछ ।
परिस्थितिवश ऋण तिर्न नसक्ने अवस्था
नेपालको सामाजिक तथा आर्थिक संरचना संवेदनशील छ। लघुवित्तका अधिकांश ऋणीहरू विपन्न, ग्रामीण र स–साना व्यवसायमा आधारित छन्। यस्ता वर्गमा निम्न कारणहरूले गर्दा ऋण तिर्ने मनसाय हुँदाहुँदै पनि ऋण फिर्ता गर्न सकिँदैनः
– प्राकृतिक प्रकोप (बाढी, पहिरो, महामारी)
– व्यवसायको घाटा वा बन्द
– पारिवारिक आम्दानीमा अचानक आएको गिरावट
– आन्तरिक-बाह्य अस्थिरता (राजनीतिक अशान्ति, बन्द)
यस्ता कारणले गर्दा परिस्थितिवश ऋण तिर्न नसक्ने यस्ता ऋणीले वित्तीय संस्था सम्पर्क रहि नियमित आफुले तिर्ने प्रतिबद्धता जाहेर गरेमा लघुवित्त वित्तीय संस्थाहरुले पनि राष्ट्र बैंकको अधिनमा रही आवश्यक सहजीकरण गरिरहेको हुन्छ ।
जमानतकर्ताको समस्याहरू
– जानकारी नपाइकन सहमतिमा हस्ताक्षर गर्नु ।
– सम्बन्धको कारण जमानत दिने तर कानुनी परिणाम नबुझ्ने ।
– ऋणी फरार वा सम्पर्कविहीन हुँदा पूरा भार जमानतकर्तालाई पर्ने ।
-सामाजिक प्रतिष्ठामा आँच आउनु ।
– वित्तीय संस्थाको प्रचलित कानुनको झन्झटमा फस्ने ।
कानुनी दृष्टिकोण
बैंक तथा वित्तीय संस्था ऐन, २०७३, सर्वोच्च अदालतका निर्णयहरू (जसले जमानतकर्तालाई उत्तरदायी देखाएका छन्)
यी सबै कानुनी आधारहरूले प्रमाणित गर्छन् कि जमानतदाता भनेको केवल साक्षी होइन, ऋण नतिरिएमा कानुनी रूपमा ऋणी सरह नै हो।
सावधानी र सुधार
-जमानत दिने बेलामा सम्पूर्ण शर्तहरू बुझ्ने ।
– दस्तावेज पढ्ने बानी बसाल्ने ।
– ऋणीको आर्थिक व्यवहार र क्षमता मूल्यांकन गर्ने ।
– लघुवित्त संस्थाले जमानतकर्तालाई पनि ऋण प्रक्रियाबारे जानकारी दिने व्यवस्था अनिवार्य बनाउने ।
लघुवित्तले वित्तीय पहुँच बढाएको भए पनि ऋण प्रवाहमा जमानतदातालाई पूर्ण जानकारी दिनुको खाँचो अझै छ। ‘जमानतकर्ता ऋणि सरह हो’ भन्ने कुरा केवल चेतावनी होइन, एक कानुनी यथार्थ हो। जमानत दिने निर्णय सादा हस्ताक्षर मात्र होइन, त्यो भविष्यमा आर्थिक र सामाजिक बोझ बन्न सक्छ भन्ने यथार्थ बुझ्न जरुरी छ । त्यसैले, जमानत दिने निर्णय सोचविचार गरेर, जोखिम मूल्याङ्कनसहित, स्पष्ट जानकारी पाएपछि मात्र गर्नुपर्छ।
ओझा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय परासीका अधिकृत हुन् ।
