
बैंकिङ खबर/ भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशन संशोधन हुने भएको छ । विभागले मंगलबार जारी गरेको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको चासोपछि बिहीबार नै संशोधन हुने भएको हो ।
विभागले घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट र ग्राहक विवरण (केवाईसी) अनिवार्य गर्दै निर्देशन जारी गरेको थियो । उक्त निर्देशनमा प्रधानमन्त्री कार्यलयको चसोपछि बुधबार र बिहीबारको सचिव स्तरीय छलफलबाट संशोधन हुने पक्का भएको हो ।
बुधबार र बिहीबार प्रधानमन्त्री कार्यलयका सचिव फणिन्द्र गौतम, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्मा र विभागका महानिर्देशक शिवप्रसाद रेग्मीबीच भएको छलफलले संशोधन गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका सचिव शर्माका अनुसार विभागले जारी गर्ने निर्देशन घरजग्गा कारोबारमा केवाईसी अनिवार्य गरिएको विषयलाई संशोधन गरिने भएको छ । संशोधित निर्देशनअनुसार मालपोतमा भएको कागजातमै सांकेतिक कोड प्रयोग गर्ने वा नाम लेख्ने व्यवस्था गरेर निर्देशन बिहीबार नै जारी हुने सचिव शर्माले बताए ।



