
बैंकिङ खबर/ माघ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा तीन वटा बैंकको घट्दा १७ बैंकको कर्जा प्रवाह भने बढेको छ ।
एनआईसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको कर्जा प्रवाह घटेको छ । माघ मसान्तसम्म एनआईसीले २ खर्ब ५२ अर्ब, प्रभुले २ खर्ब ३२ अर्ब र स्ट्याण्डर्ड चार्टर्डले ८५ अर्ब रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् । जबकि यी बैंकहरुले गत आवको असार मसान्तसम्म क्रमशः २ खर्ब ८५ अर्ब, २ खर्ब ३४ अर्ब र ८९ अर्ब प्रवाह गरेका थिए ।
अन्य १७ बैंकहरुको कर्जा प्रवाह भने बढेको छ । निक्षेप संकलन गर्नेमा पनि अब्बल देखिएको ग्लोबल आइएमई बैंक कर्जा प्रवाहमा पनि अग्र स्थानमै रहेको छ । माघ मसान्तसम्म ग्लोबल आइएमई बैंकले ४ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको असार मसान्तसम्म यस्तो कर्जा ३ खर्ब ९० अर्ब रुपैयाँ प्रवाह गरेको थियो ।


