
बैंकिङ खबर/ बैंक, वित्तमा सर्वसाधारणको निक्षेप ४२ खर्ब बढी रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुमा सर्वसाधारणको निक्षेप ४२ खर्ब ३८ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकका अनुसार पुससम्म सर्वसाधारणको निक्षेप ४.९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप ४० खर्ब ३९ अर्ब ८७ करोड ४९ रुपैयाँ थियो ।
चालु आवको ६ महिनामा १ खर्ब ९८ अर्ब ७७ करोड १८ लाख रुपैयाँ थपिएको हो । पुस मसान्तमा बैंक–वित्तीय संस्थाहरुको कुल निक्षेपमा सर्वसाधारण अर्थात व्यक्तिगत निक्षेपको हिस्सा झण्डै ६३ प्रतिशत रहेको छ भने संस्थागत निक्षेपको अंश साढे ३५ प्रतिशत छ । बाँकी अन्य प्रकारको निक्षेप छ ।
राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६७ खर्ब ३७ अर्ब ५९ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
यसमा वैदेशिक मुद्राको निक्षेप, गैह्रबैंक तथा वित्तीय संस्थाको निक्षेप, सरकारी संस्थान, गैरसरकारी संस्थान, अन्तर बैंक निक्षेप, व्यक्तिगत र विविध निक्षेप रहेका छन् ।
६ महिनाको अवधिमा कुल निक्षेप ३.७ प्रतिशत अर्थात २ खर्ब ४२ अर्ब ६५ करोड ७ लाख रुपैयाँले बढेको हो । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुमा कुल ६४ खर्ब ९४ अर्ब ९४ करोड ४३ लाख रुपैयाँ रहेको थियो ।
यस्तै ६ महिनाको अवधिमा गैर आवासीय निक्षेप २ अर्ब ३३ करोड रुपैयाँ थपिएर ७६ अर्ब ८ करोड ५८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गैर आवासीय वैदेशिक मुद्राको निक्षेप ५.५ प्रतिशतले बढेर २१ अर्ब ३१ करोड पुगेको छ भने आवासीय वैदेशिक मुद्राको निक्षेप ३९.१ प्रतिशतले बढेर १ खर्ब ३१ अर्ब ५३ करोड ५८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, गैर बैंक तथा वित्तिय संस्थाको निक्षेप ३४ अर्ब २४ करोड रुपैयाँ थपिएर १२ खर्ब ३१ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
यस्तो निक्षेप २.९ प्रतिशतले बढेको हो । जसमध्येमा बिमा कम्पनीको निक्षेप २६ अर्ब ७५ करोड रुपैयाँ थपिएर ६ खर्ब २८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । बिमा कम्पनीहरुको निक्षेप ४.४ प्रतिशतले बढेको हो । यस्तै कर्मचारी संचय कोषको निक्षेप १ खर्ब ८१ अर्ब ७२ करोड रहेको छ । कर्मचारी संचय कोषको निक्षेप ३ प्रतिशतले घटेको हो ।
पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुमा नागरिक लगानी कोषको निक्षेप १ खर्ब २३ अर्ब ५२ करोड ६२ लाख रुपैयाँ रहेको छ । नागरिक लगानी कोषको निक्षेप ६ महिनाको अवधिमा ०.७ प्रतिशतले घटेको हो । यस्तै, अन्य निक्षेप निक्षेप ५ प्रतिशतले बढेर २ खर्ब ९७ अर्ब ७९ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।
यस्तै सरकारी संस्थानहरुको निक्षेप भने ०.८ प्रतिशतले घट्दा गैर सरकारी संस्थानको निक्षेप ०.४ प्रतिशतले बढेको छ । गत पुस मसान्तसम्ममा बैंकहरुमा सरकारी संस्थानहरुको निक्षेप ३ खर्ब ३० अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यस्तै, गैर सरकारी संस्थानको निक्षेप ४ खर्ब २० अर्ब १४ करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
यस्तै, चालु आर्थिक वर्षको ६ महिनामा अन्तरबैंक निक्षेप ८.४ प्रतिशतले बढेकोे छ । यस्तो निक्षेप ४६ अर्ब १५ करोड रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा गैर नाफामुखी संस्थाहरुको निक्षेप पनि १०.६ प्रतिशतले घटेर १ खर्ब ७७ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ । यस अवधिमा अन्य प्रकृतिको निक्षेप १२.२ प्रतिशतले घटेको छ ।
यस्तो निक्षेप ८२ अर्ब ७९ करोड रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दति निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.८ प्रतिशत, २६.७ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो ।




