
बैंकिङ खबर/ चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु २६५ अर्ब ५६ करोड बढेको छ । अर्थात् यो अवधिमा ५.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु १९२ अर्ब ६४ करोड ४.० प्रतिशतले बढेको थियो।
राष्ट्र बैंकका अनुसार २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.८ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.२ प्रतिशत र ३६.८ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा निजी क्षेत्र तर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.३ प्रतिशतले, विकास बैंकहरुको ४.४ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.३ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ं.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ७.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रमा कर्जा ४.८ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.७ प्रतिशतले, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ३.१ प्रतिशतले, हायर पर्चेज कर्जा ३.८ प्रतिशतले, नगद प्रवाह कर्जा ४.७ प्रतिशतले र रियल स्टेट कर्जा ९व्यक्तिगत आवासीय घर कर्जासमेत० ३.२ प्रतिशतले बढेको छ ।
६ महिनाको अवधिमा करिब २४ अर्बले सेयर धितो कर्जामा वृद्धि हुँदा साढे १९ अर्ब भन्दा बढी कर्जा १ करोड भन्दा माथिको रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ। गत असार मसान्तमा १ करोड भन्दा ठुलो सेयर धितो कर्जा ५५ अर्ब ९३ करोड रहेकोमा पुस मसान्तमा आउँदा ७७ अर्ब ४४ करोड पुगेको छ ।




