Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताभरमा ५५.२८ अंकले घट्यो सेयर बजार

२०७३ मंसिर २४ गते
सेयर:

stockसाताको अन्तिम दिन सेयर बजार विहीबार ९.२२ अंकले घटेर बन्द भयो । साताको आइतबार आइतबार नेप्से परिसूचक २९.५४ अंकले घटेको बजारमा सोमबार पनि गिरावट कायमै रह्यो । मंगलबार आएर बजार झन्डै १० अंकले बढ्यो । तर, बुधबार वृद्धि कायम हुन सकेन, बजार सामान्य ०.५७ अंकको गिरावटसँगै बन्द भयो । साताको अन्तिम दिन पनि बजारमा गिरावट कायम रह्यो । गत साताको शुक्रबार १५९९.९६ अंकमा कायम भएको सेयर बजार यो साता १५४४.६८ अंकमा झरेको छ । यस आधारमा हेर्दा साताभरमा नेप्से ५५.२८ अंकले घटेको देखिन्छ । ठूलो र निरन्तरको पहिरोपछि गत साता सेयर बजार केही सम्हालिएको थियो । तर, संविधान संशोधनको विधेयक संसदमा पेश भएसँगै बजारले पुनः गिरावटको बाटो समाएको छ । 

यो साता कारोबार रकममा पनि निकै उतारचढाव देखियो । साताको पहिलो दिन पौने एक अर्बको कारोबार भएको बजारमा सोमबार ६४ करोडको कारोबार भयो । मंगलबार कारोबार रकम बढेर ७७ करोड पुगेको बजारमा बुधबार ५० करोडको मात्रै कारोबार भयो । साताको अन्तिम दिन थोरै बढेर ६० करोडको कारोबार भयो । समग्रमा साताभरमा तीन अर्ब २८ करोड ५१ लाख चार हजार ११ रुपैयाँ पुँजी परिचालन भयो । 

शिखर इन्स्योरेन्स, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी लगायतको राम्रो कारोबार भएको छ । अरुण फाइनान्स, नमस्ते वित्तीय संस्था, हाम्रो विकास बैंक, लक्ष्मी लघुवित्त लगायतका सेयरधनीले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंक, नागबेली लघुवित्त, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लगायतका सेयरधनीले गुमाएका छन् । 

धितोपत्र बोर्डको आश्वासन
नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ताहरुलाई हतोत्साहित नभई सतर्कता पूर्वक लगानी गर्न आह्वान गरेसँगै बजारमा केही सुधार भने देखिँदैछ । बजार घटेपनि लगानीकर्ताको मनोबल भने त्यत्ति खस्किएको देखिँदैन । बोर्डले सोमबार एक प्रेस विज्ञप्तिमार्फत बजारको हालको स्थितिलाई सूक्ष्मरुपले हेरिरहेको जानकारी गराउँदै भनेको थियो, ‘धितोपत्र लगानीकर्ताहरुलाई धितोपत्र खरिद विक्री सम्बन्धी निर्णय गर्दा सम्बन्धित क्षेत्र, उद्योग तथा कम्पनीहरुको आधारभूत तथा प्राविधिक पक्षको जानकारी लिई हतोत्साहित नभई हल्लाको पछि नलागी सुझबुझ तवरले लगानी सम्बन्धी निर्णय लिन बोर्ड अनुरोध गर्दछ ।’ बोर्डले आफ्नो ध्यान पूँजी बजारको सुधार तथा बिस्तारमा केन्द्रित रहेको भन्दै विगत केही समय यता स्टक मार्केटको विकास तथा सुधारका लागि विभिन्न कार्यहरु अगाडि बढाईरहेको उल्लेख गर्दै हतोत्साहित हुनपर्ने अवस्था नरहेको बोर्डले स्पष्ट पारेको छ । 

सेयर सूचीकराण
आरएसडीसी लघुवित्तको १० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भयो । यसबाहेक नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता सेयर, रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ११ लाख ५५ हजार कित्ता हकप्रद सेयर, मालिका विकास बैंकको सात लाख छ हजार आठ सय ३५ कित्ता सेयर, सिद्धार्थ फाइनान्स लिमिटेडको तीन लाख ५५ हजार नौ सय ५० कित्ता बोनस सेयर र फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको तीन लाख ४५ हजार कित्ता बोनस सेयर पनि नेप्सेमा यसै साता सूचीकृत भए ।