
बैंकिङ खबर/ नेपाल निर्माण उद्योग परिषद्का केन्द्रीय अध्यक्ष बलिभद्र रानाले सार्वजनिक खरिद ऐन निर्माण, उद्योगमैत्री हुन नसकेको बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा उनले निर्माण तथा खरीद नियमावली ऐनलाई सुधार गर्नुपर्नेमा जोड दिए ।
यस्तै उनले योजनाहरुको टेन्डर खोल्दा ऐनमा नै कहिले खुल्ने भनेर प्रष्ट व्यवस्था गर्नुपर्ने बताए । निर्माण व्यवसायीको भुक्तानी सम्बन्धित बैंकमा जाने र बैंकबाट आफुहरुले पाउने व्यवस्था हुनुपर्ने उनले बताए । विल हुने वित्तिकै भुक्तानी हुने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।
यस्तै स्थानीय स्रोत कहाँबाट लिने भनेर टेन्डरमै व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘ठाउँ हेरेर मात्रै म्याद थप गर्ने र काम गर्ने वातावरण गर्नुपर्छ । काम गर्न सकेन भने धरौटी जफत र कालो लिस्टमा राख्ने र प्रोजेक्ट पुर्नमूल्याकंन गरेर लाग्ने पैसा निर्माण व्यवसायीसँग लिने व्यवस्था छ । त्यो नियम हामीले फाल्न चाहेका छौं ।’
यस्तै उनले निर्माण व्यवसायिले लो विलिङ फाल्न चाहेको बताए । रानाले निर्माण व्यवसायीमैत्री नियम कानून नभएको र उद्योगमैत्री ऐन बनाउन माग गर्दै आएको उनले बताए । राजनीतिक दलहरु आर्थिक विकास र समृद्धिका लागि एकजुट हुनुपर्नेमा उनको जोड छ । उनले विकास र निर्माणकामा जोड दिएर युवाहरुलाई स्वदेशमै बस्ने वातावरणको खाँचो औंल्याए ।




