Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

५ महिनामा बैंकहरुको नाफा ३४ अर्ब

२०८१ पुष २९ गते

बैंकिङ खबर/चालु आर्थिक वर्षको पहिलो ५ महिनामा बैंक तथा वित्तीय संस्थाले ३४ अर्ब रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले मंसिर मसान्तसम्म ३३ अर्ब ९७ करोड २५ लाख रुपैयाँ नाफा गरेका हुन् ।

करिब ३४ अर्बमध्ये क वर्गका बैंकहरु अर्थात् २० वाणिज्य बैंकहरुको खुद नाफा ३० अर्ब ५९ करोड रुपैयाँ छ । यसैगरी, विकास बैंकहरुको खुद नाफा ३ अर्ब ८३ करोड र वित्त कम्पनीको ५४ करोड रुपैयाँ मात्र छ । हाल २० वाणिज्य बैंकसहित १७ विकास बैंक र १७ वित्त कम्पनी सञ्चालनमा छन् ।

उनीहरुले कात्तिक मसान्तसम्म २४ अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेकामा एक महिनामा ९ अर्ब रुपैयाँ नाफा थप गरेका हुन् । अपरिस्कृत वित्तीय विवरण अनुसार सञ्चालमा रहेका कुल ५४ बैंक तथा वित्तीय संस्थाले गत आवभर ७० अर्ब ९२ करोड रुपैयाँ नाफा गरेका थिए ।

वाणिज्य बैंकहरुले गत आवभर ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका थिए । ५ महिनामा सबैभन्दा बढी नाफा गर्ने बैंक नबिल देखिएको छ । नबिलले यस अवधिमा साढे ३ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । यसैगरी सबैभन्दा कम नाफा गर्ने बैंक एनआईसी एशिया हो ।

बढी नाफा गर्ने बैंकको सूचीमा ग्लोबल आईएमई दोस्रो, नेपाल इन्भेस्टमेन्ट मेगा तेस्रो र कुमारी बैंक चौथो स्थानमा छन् । यसैगरी विकास बैंकतर्फ सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले गरेको छ भने गरिमा दोस्रो र शाइन रेसुंगा तेस्रो स्थानमा छन् । उनीहरुले क्रमशः ५९ करोड, ५२ करोड र ४८ करोड रुपैयाँ नाफा गरेका छन् ।