Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

पूर्वगभर्नर डा. चीरञ्जीवी नेपालसहित बैंकरको लगानीमा खुल्दै एग्रो भेन्चर क्यापिटल

२०८१ भाद्र १३ गते

बैंकिङ खबर/ नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कृषिमा आधारित भेन्चर क्यापिटल स्थापना गर्ने भएको छ। नेक्सजेन म्यानेजमेन्टले पूर्वगभर्नर डा. चीरञ्जीवी नेपाल, पूर्वबैंकर, नियामक निकायका पूर्वप्रमुख, कृषि विज्ञ र कृषि उद्यमीसँग मिलेर एग्रो भेन्चर क्यापिटल स्थापना गर्ने भएको हो।

कम्पनीले सम्बन्धी पक्षसँग निरन्तर छलफल र सम्भाव्यता अध्ययन गरी नेक्सजेन म्यानेजमेन्ट १ अर्ब रुपैयाँ चुक्तापुँजी रहने गरी एग्रो भेन्चर क्यापिटल स्थापना गर्ने भएको हो। जसमा प्रारम्भिक पुँजी ५० करोड रुपैयाँको र सञ्चालनको एक वर्षभित्र अर्ब बनाइने नेक्सजेन म्यानेजमेन्टका अध्यक्ष तथा प्रस्तावित कम्पनीका प्रवर्द्धक रमेश कुमार भट्टराईले बताए।

कम्पनीका संस्थापकको लागि ८५ प्रतिशत र सर्वसाधारणको लागि १५ प्रतिशत सेयर छुट्याइने बताइएको छ। संस्थापक शेयरमध्ये ४५ प्रतिशत बैकं बिमा र सूचिकृत संस्थाको लागि हुनेछ भने ४० प्रतिशत व्यक्ति र निजी कम्पनीका लागि छुट्याइने बताइएको छ।

प्रस्तावित भेन्चर क्यापिटलमा सात सदस्सीय सञ्चालक समिति हुनेछ। संस्थापकबाट पाँच जना, सर्वसाधारणबाट एक जना र स्वतन्त्र सञ्चालक एक जना हुनेछ।

नेपालमा विदेशी र स्वदेशी लगानीका भेन्चर क्यापिटल सञ्चालनमा छन्। तर, कृषिजन्य कच्चा र तयारी वस्तुमा आधारित उद्योग व्यवसायको स्थापना, सञ्चालन र प्रवर्द्धनमा सहयोग गर्ने छुट्टै भेन्चर क्यापिटल नभएकोले यो प्रकृतिको कम्पनीको आवश्यकता भएको भट्टराईको भनाइ छ।

अमेरिका र युरोपमा एकदमै सफल मानिएको भेन्चर क्यापिटल नेपालमा पनि केही वर्षअघिबाट प्रारम्भ भइसकेको छ। विदेशी लगानीका दुई र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत ११ भेन्चर क्यापिटल अहिले कार्यरत छन्। नेपालमा नयाँ प्रयोग भएको तथा देखासिकी र रहरमा खुलेका कम्पनीले उद्देश्य अनुसार काम गर्न सकेका छैनन्।

राम्रो सम्भावना भएर पनि पुँजीको अभावमा धेरै उद्योग व्यवसाय राम्ररी चल्न सकेका छैनन्। सम्भावना भएका नयाँ उद्योग व्यवसायमा जोखिम बढी हुने डरले बैंक लगानी गर्न चाहँदैनन्। यस्ता उद्योग व्यवसायमा प्राइभेट इक्विटी र भेन्चर क्यापिटलले लगानी गर्छन्।

नेपालमा सम्भावनाको आधारमा उद्योग व्यवसाय नखुल्ने र खुलेका पनि पारदर्शी लेखा प्रणाली र व्यवस्थापन नहुने हुँदा हामी कहाँ खुलेका भेन्चर क्यापिटलले लगानी गर्न सकेका छैनन्। यही यथार्थता बुझेर नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले कृषि क्षेत्रका उद्योग व्यवसायलाई मुख्य प्राथमिकतामा राखेर छुट्टै भेन्चर क्यापिटल खोल्ने प्रयास गरेको हो।