November 21st, 2016

वित्तीय संस्थामा ‘सुशासन’ कायम गर्न प्रा. रामप्रसाद दाहालका टिप्सहरु

rp-dahal‘सुशासन’ शब्द सबैको लागि सुन्न र गफ गर्न प्रिय लाग्छ । सबैको सामु उभिएर आफू पारदर्शी र संस्थागत सुशासनमा बँधिएको मान्छे भनेर व्यवस्थापकीय विश्लेषण गर्दा गर्व लाग्छ । संस्थाको लक्ष्य प्राप्तितर्पm चासो र रौश, खुल्दुली र रहरका अभिव्यक्ति पनि व्यक्त गर्न मन लाग्छ । समस्या र चुनौतिलाई पनि तिनै आफ्ना अन्तर्मनका कुराहरूसँग संस्थालाई जोडेर सम्बन्ध कायम गर्न पनि मन लाग्छ । त्यतिमात्र होइन सम्बधित संस्थाको शेयर कारोबारका कुरा पनि विश्लेषण गरिन्छ । यति मीठो कुराहरू गर्दा–गर्दै पनि अरूलाई उपदेश दिँदा काम लाग्ने तर आफूलाई परि आँउदा मैले त गरेको होइन भनि अमूक व्यक्तिलाई दोष दिएर हामी पन्छिने गछौँ । अनि आफूले आफैँलाई बाँध्न बनाएको नियम कानून पनि आफूलाई सजिलो पार्न तोडिदिन्छौँ, छोडिदिन्छौँ र विकृति र विसंङ्गति भित्र्याउँछौँ । हुकुमी शैली र हैकमवादलाई प्रश्रय दिई हामी अधि बढ्छौँ । परिणाम त ‘सशासन’ शब्दमा सीमित रहन्छ । बाफिया, नीति निर्देशन, सबै ओझेलमा पर्छन र जनतालाई सेवादिन प्रतिबद्ध संस्थाहरू आफैँ अँध्यारोमा पर्छन् त्यसैले लहडको शब्द होइन–सुशासन । जो कार्यान्वयन गर्न हामीलाई कतिपय अवस्थामा समाज र ब्यवहार अनि आफनो शक्ति हत्याउने खेलमा त्यो पूरा गर्न सकिन्नँ र सुशासन भत्किन्छ । 

वित्तीय संस्थामा सुशासन
वास्तवमा सुशासन कायम गर्न संस्थामा विभिन्न विनिमय तथा नीति नियमहरू तर्जुमा गरि लागु गरिएको हुन्छ । वित्तीय संस्थाहरूमा त झन् संस्थाको लेखापरीक्षण समितिबाट नियमित लेखा परीक्षणका क्रममा प्राप्त हुने आन्तरिक र बाहृय लेखा परीक्षकका प्रतिवेदनमाथि व्यवस्थापनसँग आवश्यक छलफल एवं प्रतिक्रिया लिईन्छ र सो प्रतिवेदन सञ्चालक समितिमा पेश गरिन्छ । साथै, संस्थागत सुशासन पालन गराउन समिति क्रियाशील रहने परिपाटी देखिन्छ । यसलाई, संस्थालाई सही बाटोमा हिँडाउने वा दिशानिर्देश गर्ने पद्धति मान्न सकिन्छ । त्यति मात्र होइन, प्रत्येक तीन तीन महिनामा जनता र शेयरधनी महानुभावहरूको जानकारीका लागि राष्ट्रिय दैनिक पत्रिका मार्फत वितिय विवरण सार्वजनिक गरिन्छ । जसमा सत्य–तथ्य सम्बन्धी कार्यकारी प्रमुखको उद्घोषणदेखि संस्थाको समस्या तथा चूनौति, वासलात, नाफा नोक्सानको विवरण, व्यवस्थापकीय विश्लेषण, शेयर कारोबार यावत पक्षलाई समावेश गरी प्रकाशित गरिएको हुन्छ । 

वित्तीय सुशासनमा प्रमुख कार्यकारीको भूमिका
यद्यपि, जति नै विश्लेषण भएपनि संस्था हाँक्ने मूल सारथी भनेको संस्थाको कार्यकारी प्रमुख नै हुन्छ । उसले उल्लेखित नीति नियमलाई पालन गरि कसरी अगाडि बढिरहेको छ, त्यसमा पनि सम्पूर्ण संस्थाको भाग्य भरोसा केन्द्रित भइरहेको हुन्छ र उसैको आसन वरिपरि सुशासन लम्किरहेको हुन्छ । सुशासन र पारदार्शिता कायम गराउन उनको प्रमुख दायित्व रहन्छ । 

सुशासन सबैमा लागु हुने विषय हो । नेपाल विकास निर्माणमा अघि बढ्न नसक्नु र नियम कानूनमा चल्न नसक्नुको मूख्य कारण कुशासन नै हो । ठूला नेता विरामी पर्दा कानून वेगर नै करोडौँ रूपैयाँ दिने तर कुपोषणले शिकार भइरहेको बाल–बालिका तथा वृद्धहरूलाई एक चक्की सिटामोल उपलब्ध गराउन नसक्ने सरकारले सुशासन कायम गर्न सक्छ त ? प्रश्न सरकार देखि नै उठछ । ‘मूल’ बाटै बिग्रिएको सुशासन कुनै पनि राज्यको हाँगामा फस्टाउन नपाई ओइलिएरझर्छ । अझ यसो भनौँ, तपाईँले सानो विरूवा रोपेर मलजल हालेर–अत्यन्त माया प्रेम गरेर हुर्कीएको विरूवाको हरियो पातमा, हरियो संग–संगै कुशासनको किरा पसेर कुटुकुटु हरियोपनलाई खान थाल्छ र एकदिन त्यो विरूवा त्यसै–त्यसै मर्दै जान्छ ठीक हाम्रोे समाजमा कुशासनले सू–शासनलाई व्यक्तिको लहडमा खाइरहेका हजारौ दृष्टान्तहरू हाम्रो सामू घुमिरहेको छ । फलस्वरूप हामी कुशासनको शिकार भइरहेका छौं ।

कोबाट के आश गर्ने ?
आज भोलिका छापा रङ्गिएका छन् भारू नसाटिने जोखिम बढयो, शेयरधनीलाई पैसा नदिने, बोनस शेयर दिने, प्रत्येक बैंक तथा वित्तीय संस्थाको साधरणसभा र त्रैमासिक प्रतिवेदनका विवरण आइरहेका छन् । चन्द्रागिरी केवुलकारको ठगी प्रकरण, सुजाताको ५० लाख, सचिवहरू जिम्मेवारीविहिन, पश्चिमाञ्चल फाइनान्सका प्रबन्धकद्वारा पाँच करोड हिनामिना, गोबिन्द के. सि. को डिन नियुक्ति प्रकरण, कारबाही हुनपर्न व्यक्ति डिन भएको र अनशन जारी लगायतका समाचारहरु आइरहेका छन् । साताभरी हल्ला चल्यो, विहान उठेदेखि केही काम गर्नु नपर्ने, दिनभरी तातो चियाको घुुड्कोसँगै चोक चोकमा बसेर गफ गर्ने र राती आफ्नो फेसबुकमा तरकरीवालीको फोटो राखेर सुत्ने युवकहरू तथा आफ्नो दायित्व बोध नगर्ने, मध्यरातसम्म घरवाहिर कामको निहुँपारी बस्न मन पराउने, अनि आफ्नो फेसबुक प्रोफाइलमा राज लुँइटेलको फोटो शेयर गरी आनन्द लिने वा रमाउने महिला युवतीबाट देशले विकृतिबाहेक अरू के पाउने ? प्रश्न जीवन्त भएर उभिएको छ ।

सही कुरालाई गलत बुझ्ने परिपाटी
आँखा पर्छ, वाणिज्य बैंकहरूको नाफामा । आजभोली मेरो कलम टकक अडिन्छ ‘नाफा …। मलाई यो शब्द कस्तो ! कस्तो ! लाग्छ – नाफा, मुनाफा, फाइदा, ग्वाम्म खायो, कुम्ल्यायो, गोद्यो, ठोक्यो, सक्यो, कागज मिलाएर सक्यो, लौ संस्था सिध्यायो, जनता झुक्यायो आदि इत्यादि । यस्ता शब्दहरू हुने खानेको कफी गफमा, सामान्यको सडकको चिया पसलमा बारम्बार गफको विषय बन्दा दुःख पनि लाग्छ । समाजमा अविश्वसनीय वातावरण र सही कुरालाई पनि सही रूपमा नबुझिदिने सोचको विकास भइरहेको छ । बास्तवमा भन्नुपर्दा, हामीसँग नकरात्मक सोच ज्यादा पलाएको छ । आफ्नो बारेमा सोच्नुभन्दा अर्काको बारेमा कुरा काटेर आनन्द लिने परिपाटी बसेको छ । अरूसंग दाँज्ने, दाँजिने होडबाजी चलेको छ । जसले सहि काम गरेपनि नकरात्मक दृष्टिबाटै सोच्छ र नागरिकमा भ्रमको खेती भर्छ ।

राज्यको विकास गर्ने, जनतालाई सेवा दिने, लगानीकर्तालाई प्रतिफल दिने, बैकिङ पहुँचको विस्तार गर्ने, रोजगारी सिर्जना गरिदिने, धेरैको परिवार पालि दिने, ऋण दिने, नाफा दिने अर्थात लगानी अनुसार प्रतिफल दिन बसेका संस्थाहरूमध्ये अब्बल दर्जाका संस्था हुन् वाणिज्य बैंकहरू । त्यसलाई त्यही रूपमा बुझ्नुपर्छ । त्यो नै लाभदायिक र हितकारी हुन्छ । नेपालका सरकारी वा निजीस्तरका वाणिज्य बैंकहरू जुनसुकै हुन् उनीहरूको जवाफदेहीता शेयरधनी र राज्यप्रति नै हो । यसलाई बुझन सक्नुपर्छ ।

पहिलो त्रैमासको विवरण हेर्दा
चालू आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरुको प्रगतिलाई हेर्दा सरकारी बैंकहरु सँगसँगै नीजिस्तरका बैंकहरु पनि सबल बन्दै गइरहेको देखिन्छ । निजीस्तरका २५ वाणिज्य बैंकहरुमध्येमा नबिल, नेपाल इन्भेष्टमेन्ट, एभरेष्ट, हिमालयन, ग्लोबल आईएमई, सिद्धार्थ, नेपाल एसविआई, एनएमबी, सिटिजन्स, प्रभु लगायतको नाफा उत्साहजनक देखिएको छ । पहिलो त्रैमासमा नविल बैकको नाफा ७९ करोड ८३ लाख रुपैयाँ छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको ७४ करोड रुपैयाँ छ । त्यस्तै, एभरेष्ट बैंकको नाफा ५१ करोड ३४ लाख, हिमालयन बैंकको ४३ करोड ८४ लाख, ग्लोबल आईएमई बैंकको ४२ करोड, सिद्धार्थको ३५ करोड ९६ लाख, नेपाल एसबिआईको ३५ करोड ४१ लाख, सिटिजन्सको ३४ करोड ५१ लाख र प्रभु बैंकको नाफा २८ करोड २४ लाख ६३ हजार रुपैया छ । त्यस्तै, सरकारी स्वामित्वका बैंकहरुमध्ये, नेपाल बैंकको नाफा एक अर्ब १६ करोड, कृषि विकास बैंकको ४२ करोड २३ लाख र राष्ट्रिय वाणिज्य बैंकको नाफा ५० करोड रुपैयाँ छ । 
यसरी मुनाफा वृद्धि भएता पनि वर्षान्तमा यी बैंकहरूको अन्तिम प्रतिफल कस्तो रहने हो त्यसबाट नै पूर्ण व्याख्या विश्लषेण गर्न सकिन्छ । यद्यपि पहिलो त्रैमासको यो प्रगतीलाई सकरात्मक सन्देश भने मान्न सकिन्छ । किनकि हालको त्रैमासमा ५० प्रतिशत भन्दा माथि नै नाफा देखिन्छ ।

समग्रमा भन्दा कामप्रतिको लगनशीलता, कर्मचारीको दक्षता, व्यवस्थापन तथा सञ्चालक समितिको प्रतिबद्धता र सुशसन, पारदर्शिता, कार्यप्रति निरन्तरता, जोखिम व्यवस्थापनको सवलता, प्रोजेकट छनोटको बुद्धिमता, लगानी प्रप्तिको विश्वसनीयता, कायम गरी सकारात्मक सोच राखेर सबैलाई समेटेर कसैलाई काखा–पाखा नपारि अघि बढन सके सुशासन कायम हुन सक्छ, बैकिङ्क पहुँच विस्तार हुन्छ र शेयरधनीलाई प्रतिफल दिन सकिन्छ भन्ने भाव जागृत गराउन नेपालमा रहेका वाणिज्य  बैंकहरूले अग्रगामी भूमिका खेल्न सक्नुपर्छ । यही नै समय–सापेक्ष वित्तीय सुधारका लागि आशाको थलो बन्न सक्छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]