
बैंकिङ खबर/ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले धम्बोझी चोक १, नेपालगञ्ज बाँकेमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकको सम्पत्ति लिलामी गर्ने भएको छ ।
नेफ्स्कुनबाट लिएको कर्जा नतिरेपछि संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र सदस्यहरुको सम्पत्ति लिलामी गर्न लागिएको हो । नेफ्स्कुनले १५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्रद्वारा धितो लिलाम गर्ने जनाएको छ ।
नेफ्स्कुनबाट संस्थाका पदाधिकारी जमानी बसेर लिएको कर्जा ऋणी सस्था एवं धितो जमानीकर्ताले उपभोग गरेको कर्जाको सांवा, ब्याज र हर्जाना रकम तिर्न बुझाउन पर्नेमा हालसम्म नबुझाएको जनाएको छ ।
नेफ्स्कुनले मौखिक तथा लिखित पत्र मार्फर्त कर्जाको साँवा, ब्याज, हर्जाना तथा अन्य दस्तुर भुक्तानी नगरेको हुनाले घितो लिलाम सम्बन्धी १५ दिने सूचना निकालेको जनाएको छ ।
धितो सुरक्षण सम्पती लिलाम बिक्रीमा सहभागी हुन र बोलपत्र खरिद गरी लिन इच्छुक संघ, संस्था, फर्म, कम्पनी तथा सर्बसाधारण १५ दिन भित्र बोल कबोल गरेको रकम सहितको बोलपत्र पेश गर्न आग्रह गरेको छ ।




