Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नयाँ स्टक एक्स्चेन्ज खोल्न सरकारलाई धितोपत्र बोर्डको प्रस्ताव

२०८० पुष १ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउनका लागि अर्थमन्त्रालयलाई प्रस्ताव गरेको छ । बोर्डले आइतबार अर्थमन्त्रालयलाई नयाँ स्टक एक्स्चेन्ज खोल्नका लागि प्रस्ताव गर्दै पत्र पठाएको हो ।

बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार अर्थ समितिले नै स्टक एक्स्चेन्जको लाइसेन्स खोल्न स्वीकृति दिएकाले मन्त्रालयलाई यसबारे जानकारी गराउँदै प्रस्ताव पत्र पठाइएको हो । नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका लागि अर्थ मन्त्रालय सकारात्मक भएमा मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लगेर पारित गराउने छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन र अर्थ समितिले पनि तत्काललाई स्थगित गर्न निर्देशन दिएपछि स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया बीचमै रोकिएको थियो ।

विशेष अध्ययनपछि गत कात्तिक अन्तिम साता अर्थ समितिले अर्को एउटा स्टक एक्स्चेन्ज सञ्चालन गर्न सकिने भन्दै बोर्डलाई प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । यसअघि असोज २०७९ मा धितोपत्र बोर्डले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सका लागि आवेदन माग गरेको थियो । त्यसपछि समितिले नै अध्ययन गरेर मात्रै प्रक्रिया अगाडि बढाउन सकिने भन्दै तत्काललाई स्थगित गराएको थियो । त्यतिबेला स्टक एक्स्चेन्जको लाइसेन्सका लागि आवेदन माग गर्दा हिमालयन स्टक एक्सचेञ्ज, नेसनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्ज लिमिटेडले आवेदन दिएका थिए ।