Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मेरो कार्यकालमा उल्लेख्य काम गरे: अध्यक्ष हमाल

२०८० मंसिर २१ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकालमा इतिहासमै नभएको काम भएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले धितोपत्र बजार स्थापना भएको ३० वर्षको अवधिमा हुनै नसकेको काम २१ महिनाको अवधिमा आफूले गरेर देखाएको बताए।

‘३० वर्षको धितोपत्रको इतिहासमा पहिलोपटक हामीले भित्री कारोबार, पहिलोपटक मार्केट मेनुपुलेसन, एकैपटक ८८ सूचीकृत कम्पनीलाई कारबाही, पहिलोपटक मनी लाउन्डरिङमा कारबाही गर्‍यौँ । अहिलेसम्म कुनै पनि गुनासो आएको छैन । फाइल पनि क्लोज भएको छैन । यो ३० वर्षको इतिहास हो,’ उनले भने,’म आउनुभन्दा पहिले २९ वर्षको धितोपत्रको इतिहासमा १० वटा माइनर कारबाही भएका छन् । भनेको, एभरेजमा हरेक तीन वर्षमा एउटा कारबाही हुन्थे । त्यो पनि माइनर । अहिले म २१औँमहिने कार्यकालमा छु । ८८ वटा सूचीकृत कम्पनीबाहेक २० वटा माइनर कारबाही भएका छन् । एभरेजमा महिनाको एउटा कारबाही भएका छन् । एउटा दृढ संकल्प, आत्मविश्वास र प्रणलीले गर्दा सम्भव भएको हो ।’

सरकारी निकायमा कुनै पनि सेवाग्राहीले निवेदन दर्ता गरेपछि दैनिक आउनु नपर्ने प्रणालीको विकास गर्नुपर्ने पनि उनले बताए । निश्चित अवधिमा लिखित जवाफ पठाउने प्रणालीको विकास आवश्यक रहेको उनले औँल्याए ।

धितोपत्र बोर्डमा निवेदन दिएको तीन दिनमा काम हुने वा नहुने भन्ने लिखित जवाफ दिने प्रणालीको विकास गरेको उनले सुनाए । ब्रोकरको शाखा सञ्जालबारे पनि त्यस्तै गरिएको उनको भनाइ छ ।