Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडको सेयर कारोबार स्थगित

२०८० मंसिर १८ गते

बैंकिङ खबर/ तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडको सेयर कारोबार स्थगन गरिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धितोपत्र सूचीकरण विनियमावलीअनुसार कारोबार स्थगन गरिएको जनाएको छ ।

कम्पनीले लाभांश घोषणासम्बन्धी निर्णय ढिलो गरी नेप्सेलाई जानकारी गराएको भन्दै सेयर कारोबार स्थगन गरिएको हो । “धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी वा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्नेछ भन्ने व्यवस्था रहेकाले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनियमावलीको विनियम १६ (१) (ख)मा भएको व्यवस्थाअनुरूप २०८० साल मंसिर १८ को निर्णायानुसार त्यस कम्पनीको धितोपत्र कारोबार स्थगन गरिएको छ,” नेप्सेले तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडलाई पठाएको पत्रमा भनिएको छ ।

साथै, उक्त पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र के कति कारणबाट समयमै जानकारी दिन नसकेको भन्ने सम्बन्धमा स्पष्टीकरण पेस गर्न समेत नेप्सेले निर्देशन दिएको छ ।

तारागाउँ रिजेन्सी होटेल्स लिमिटेडको शनिबार बसेको सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने निर्णय गरिएको थियो । सो निर्णय भने नेप्सेलाई आइतबार बेलुका ५ः१५ बजे मात्र जानकारी गराएको नेप्सेको भनाइ छ ।