Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

लालुपाते सहकारी प्रकरणः३५ जनाविरुद्ध अभियोग पत्र दायर

२०८० मंसिर १५ गते

बैंकिङ खबर/खोटाङको दिक्तेलमा रहेको लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसुरमा ३५ जना प्रतिवादीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ ।

बचतकर्ताको लगानी अपचलन भएको विषयमा सहकारीका वर्तमान तथा निवर्तमान सञ्चालक समिति, सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशी (मृतक) तथा उनका परिवार, सहकारीका प्रबन्धक, लेखापाल र ऋणीविरुद्ध जिल्ला अदालतमा अभियोग पत्र दायर भएको हो ।

मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम प्रतिवादीविरुद्ध अभियोग पत्र दायर भएको जिल्ला अदालत खोटाङका स्रेस्तेदार सीताराम खड्काले बताए ।

सहकारीका दुई सय ६५ जना बचतकर्ताले ३५ जना प्रतिवादीबाट चार करोड ४० लाख ६१ हजार १८ रुपैयाँ बिगो माग दाबी गरेका छन् । अभियोग पत्र पेस भएसँगै बिहीवारदेखि नै नौ जना प्रतिवादीको बयान शुरु गरिएको अदालतले जनाएको छ । ‘प्रतिवादीको बयान सकिएपछि बहस हुन्छ ।

बचतकर्ताले आठ सयदेखि ५५ लाख रुपैयाँसम्म बचत फिर्ताका लागि निवेदन दिएका प्रहरीले जनाएको छ । बचत डुबाइदिएको भन्दै बचतकर्ताले पहिलोपल्ट २०७९ फागुन २ गते सहकारीका अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । केही समयअघि सञ्चालक र केही ऋणीविरुद्ध पनि बचतकर्ताले जाहेरी दिएका थिए ।