
बैंकिङ खबर/ बैंकिङ प्रणालीमा अधिक तरलता भएपछी नेपाल राष्ट्र बैंकले बजारबाट धमाधम पैसा उठाउन थालेको छ । मंसिर ६ गते १० अर्ब र १२ गते १० अर्ब उठाएको राष्ट्र बैंकले बिहीबारका लागि थप १५ अर्ब रुपैयाँ उठाएन सूचना जारी गरेको छ ।
बुधबार राष्ट्र बैंकले १.१ प्रतिशत ब्याजदरमा नै बजारबाट पैसा उठाएको छ । राष्ट्र बैंकले १.१ देखि १.२४ प्रतिशतसम्म ब्याजदरमा पैसा उठाएको हो । यसअघि साउन ६ गते १.६ देखि २.१७२३ प्रतिशत ब्याजदरमा पैसा उठाएको थियो ।
बोलकबोल विधिबाट कम ब्याजदर प्रस्ताव गर्ने बैंकबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्नेछ । राष्ट्र बैंकले तोकेको निक्षेप संकलन दरभन्दा अन्तर बैंक ब्याजदर कम भए पनि एक सातामै तेस्रो पटक राष्ट्र बैंकले बजारबाट पैसा उठाउन लागेको हो ।
राष्ट्र बैंकले बजारबाट २० अर्ब रुपैयाँ उठाउँदा समेत अन्तर बैंक ब्याजदर २ प्रतिशतभन्दा कम नै रहेपछि राष्ट्र बैंकले तेस्रो पटक बजारबाट ७ दिन अवधिका लागि निक्षेप संकलन गर्न लागेको हो । पछिल्लो ३ महिनादेखि अन्तर बैंक ब्याजदर निक्षेप संकलन दरभन्दा कम हुँदा समेत राष्ट्र बैंकले बजारबाट निक्षेप संकलन नगर्दा आलोचना हुँदै आएको थियो ।



