
बैंकिङ खबर/माण्डु हाइड्रोपावर लिमिटेडले भदौ १० गतेदेखि प्रिमियममा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता शेयर प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँडफाँट नभएको ७९ हजार ३० कित्ता सहित गरी कुल १३ लाख ६ हजार ३०६ कित्ता शेयर निष्काशन गरेको हो।
सोमध्ये २८ हजार ८५३ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
सो आईपीओमा प्रतिकित्ता २०६ रुपैयाँका दरले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।




