Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

४१ वटा बैंक तथा वित्तीय संस्थाले गरे आस्वा सदस्यता नविकरण (सूचीसहित)

२०८० श्रावण ५ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चालु आर्थिक वर्ष २०८०/८१का लागि ४१ वटा बैंक तथा वित्तीय संस्थाको सी–आस्वा सदस्यता नवीकरण गरेको छ। गत असार ३१ गते सेबोनले यो आर्थिक वर्षका लागि २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको सूचना जारी गरेको थियो। आस्वा सदस्यता नवीकरण नगरेका बैंक तथा वित्तीय संस्थाबाट आइपीओ भर्न नपाइने सीडीएस एन्ड क्लियरिङले जनाएको थियो ।

जसका कारण आस्वा सदस्यता नवीकरण नभएका बैंक तथा वित्तीय संस्थामा खाता रहेका लाखौँ लगानीकर्ताले आईपीओलगायत सार्वजनिक निष्कासनमा आवेदन दिनबाट बञ्चित भएका थिए। योसँगै आस्वा सदस्यता नवीकरणलाई लिएर सेबोनको चर्को आलोचना भएको थियो। त्यसपछि भोलिपल्ट साउन १ गते सेबोनले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको थियो। तर, सेबोनले थप नवीकरणका विषयमा हालसम्म पनि सूचना जारी गरेको छैन।

पछि सेबोनले हालसम्म ४१ वटा बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरण गरेको छ। अझै पनि आधा दर्जनजति बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता नवीकरण हुन बाँकी रहेको छ। आस्वा सदस्यता नवीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले वार्षिक २५ हजार रुपैयाँ तिर्नुपर्छ।