
बैैंकिङ खबर/ घोराही सिमेन्ट्सको आईपीओ निष्काशन पुनः सुचारु भएको छ । असार २० गतेको नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार आईपीओ निष्काशन पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ।
कम्पनीको आईपीओमा असार २४ गते, आइतबारसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार ३१ गतेसम्म लम्बिने कम्पनीले प्रकाशित गरेको सूचनामा उल्लेख छ । बोर्डको निर्देशन अनुसार शेयर खरिदका लागि आवेदन दिइसकेका आवेदकहरुले सो आवेदनमा शेयर संख्या थप-घट गर्न वा आवेदन फिर्ता गर्न चाहेमा असार २२ गतेदेखि २४ गतेसम्म आफ्नो सि आस्बा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवदेन दिन सकिने पनि सो सूचनामा उल्लेख छ।
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गरेको हो। सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ।
यसैबीच सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियमा आईपीओ निष्काशन गर्ने भएको छ । इन्स्योरेन्सले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो।
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिनेछ भने बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयर प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणका लागि निष्काशन गरिनेछ।
इन्स्योरेन्सले कुल निष्काशन गरिने शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गर्न लागेको हो। त्यसैगरी, निष्काशन गरिने कुल शेयरको ५ प्रतिशत अर्थात ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ९० लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
यस्तै सन नेपाल लाइफ इन्स्योरेन्सले पनि प्रिमियमा आईपीओ निष्काशन गर्ने भएको छ। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये पहिलो चरणमा ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयरएनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्स वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषतस्तरको सुरक्षित कम्पनी रहेको संकेत गर्दछ।