
बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डले जलविद्युत क्षेत्रका दुई कम्पनीलाई सार्वजनिक निष्कासनको अनुमति दिएको छ । बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।
बोर्डले मनकामना हाइड्रोपावरले असार ५ गते जारी पुँजीको ३५ प्रतिशत आईपीओ निष्कासनको स्वीकृति प्रदान गरेको हो। कम्पनीले चाँडै नै अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता साधारण सेयर निष्कासन तथा बिक्री गर्ने छ ।
कम्पनीले उक्त सेयर आयोजना प्रभावित क्षेत्र, स्थानीय, आयोजनामा कार्यरत कर्मचारी, म्युचुअल फन्ड, वैदेशिक रोजगारीमा गएका नेपाली तथा सर्वसधारणमा बिक्री गर्ने छ। यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ।
यस्तै भगवती हाइड्रोपावर असार ६ गते बोर्डबाट जारी पुँजीको २५ प्रतिशत साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो।कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने स्वीकृति पाएको हो।
कम्पनीले १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता सेयर निष्कासन गर्ने स्वीकृति बोर्डबाट पाएको हो। सो सेयर कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँका दरले बिक्री गर्ने छ।
यस कम्पनी साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। कम्पनीका अनुसार यस आयोजनामा कुल ५२ जना मात्र संस्थापक सेयरधनीहरु रहेका छन्। उक्त सेयरधनीहरुको कुल सेयर स्वामित्व आयोजनामा ७५ प्रतिशत रहेको छ।
हाल कम्पनीको अधिकृत पुँजी ६८ करोड रहेको छ। जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रहेको छ। हाल कम्पनीको चुक्ता पुँजी ४२ करोड ९० लाख ४८ हजार ५०० रहेको छ।