
बैंकिङ खबर/ घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि बाँडफाँड गरी बाँकी भएको सबै शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता शेयर निष्काशन गर्नेछ।
सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्काशन बन्द छिटोमा असार ४ गते हुनेछ भने ढिलोमा असार १४ गते हुनेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
यसैबीच अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले असार ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ९ लाख ८० हजार ४०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख ९ हजार ८०४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सोमध्ये ५० प्रतिशत अर्थात २ लाख ५४ हजार९०२ कित्ता साधारण शेयर आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका वडा नं. ३ का बासीहरुको लागि बाँडफाँट गरिनेछ भने बाँकी ५० प्रतिशत सो बाहेकका सम्पूर्ण दैलेख जिल्लाबासीहरुमा बाँडफाँट गरिनेछ।