२०८० जेष्ठ २९ गते

भारतको जीडीपी ३.७५ ट्रिलियन डलर

बैंकिङ खबर/भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) सन् २०२३ मा ३.७५ ट्रिलियन डलर पुगेको छ। योसँगै भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र भएको छ। केन्द्रीय अर्थमन्त्री निर्मला सीतारमणले संघर्षरत विश्व अर्थतन्त्रमा भारत ‘ब्राइट स्पट’ भएको बताएकी छन्।

सन् २०१४ मा करिब २ ट्रिलियन डलर रहेको भारतको जीडीपी यो वर्ष लगभग दोब्बरले बढेको देखिन्छ। आफूलाई करिब २०० वर्षसम्म उपनिवेश बनाएको बेलायतलाई उछिन्दै गत वर्ष भारत विश्वको पाँचौं ठूलो अर्थतन्त्र बन्न सफल भएको थियो।

अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणअनुसार भारत अब अमेरिका, चीन, जापान र जर्मनीभन्दा मात्र पछाडि छ। एक दशकअघि भारत ११ औं स्थानमा थियो। चौथो त्रैमासमा भारतको आर्थिक गतिविधि अपेक्षितभन्दा बलियो रह्यो। जसले आर्थिक वर्ष २०२३ मा आर्थिक वृद्धि ७.२ प्रतिशतमा उचालियो। यो वर्ष भारतको आर्थिक वृद्धि ७ प्रतिशत हुने प्रक्षेपण गत फेब्रुअरीमै गरिएको थियो। विभिन्न आर्थिक चुनौतीहरूको बावजुद भारतको अर्थतन्त्र बलियो देखिएको छ ।

भारतको केन्द्रिय तथ्यांक विभाग राष्ट्रिय सांख्यिकी कार्यालय (एनएसओ)का अनुसार आव २०२२-२३ मा भारतको जीडीपी ७.३ प्रतिशत रह्यो। भारत चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा बोल्दै मोदी सरकारका प्रमुख आर्थिक सल्लाहकार डा. भी अनन्त नागेश्वरनले ७.२ प्रतिशत जीडीपी वृद्धि भारत सरकार र अर्थतन्त्रका लागि उत्साहजनक उपलब्धि भएको बताए।