
बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डले जलविद्युत समूहको संगठित संस्थाहरूको सेयर संरचनाको अध्ययन गर्ने भएको छ । बोर्डले अध्ययन गर्न समिति समेत गठन गरेको छ । १९ चैतमा बसेको बोर्ड बैंठकले उक्त निर्णय गरेको बोर्डले जनाएको छ ।
धितोपत्र बोर्डको सञ्चालक बोर्डमा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहसचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको बोर्डले जनाएको छ । जलविद्युत समूहको सूचीकृत संगठित संस्थाहरूको सेयर धितोपत्र बजारमा सूचीकृत भए पश्चात तथा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पुरा गरिसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको सेयर संरचनाको विद्यामान अवस्था र त्यसको प्रभावका सम्बन्धमा अध्ययन गर्न समिति गठन भएको बोर्डले जनाएको छ ।
सार्वजनिक निष्कासन गरेको हाइड्रोपावर कम्पनीको संस्थापक सेयरधनीले लकिङ अवधि सकिएपछि सेयर बिक्री गरेर बाहिरिने र सर्वसाधारणको लागानीमा जोखिम बढ्दै गएको छ । यस्तोमा बोर्डले सेयर संस्थानको अध्ययन गर्न समिति बनाएको हो ।
समितिका अन्य सदस्यहरूमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजनकुमार काफ्ले, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्मा रहेको बोर्डले जनाएको छ । उक्त समितिले तीन महिना भित्र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पुरा गरिसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको सेयर संरचनाको विद्यामान अवस्थाको बारेमा अध्यन गर्ने बोर्डले जनाएको छ । साथै त्यसको प्रभावका सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी सञ्चालक समिति समक्ष पेश गर्ने जनाएको छ ।