Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मर्जर नीतिपछि २५७ बैंक तथा वित्तीय संस्थाहरू मर्जरमा, १८४ को इजाजत खारेज

२०८० बैशाख १७ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले यस वर्ष बैंक तथा वित्तीय संस्थाको मर्जर तथा प्राप्तिमा उल्लेख्य प्रगति भएको जनाएको छ । राष्ट्र बैंकका अनुसार विगत एक वर्षको अवधिमा वाणिज्य बैंकहरू मर्जर तथा प्राप्तिमा संलग्न भई वाणिज्य बैंकको सङ्ख्या २७ बाट २१ मा झरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिनेतथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराए पश्चात् २०७९ फागुन मसान्तसम्म कुल २५७ बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १८४ संस्थाको इजाजत खारेज हुन गई ७३ संस्था कायम भएका छन्।

राष्ट्र बैंकले विगत एक वर्षमा वित्तीय पहुँच पनि उल्लेख्य विस्तार भएको जनाएको छ। राष्ट्र बैंकका अनुसार २०७९ फागुन मसान्तसम्म २१ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६४ लघुवित्त वित्तीय संस्था र एक वटा पूर्वाधार विकास बैंक गरी बैंक तथा वित्तीय संस्थाको कुल सङ्ख्या १२० रहेको छ । २०७९ फागुन मसान्तसम्ममा वाणिज्य बैंकका ५०४९, विकास बैंकका ११३०, वित्त कम्पनीका २८२ र लघुवित्त वित्तीय संस्थाका ५,१६८ गरी बैंक तथा वित्तीय संस्थाको कुल शाखा सङ्ख्या ११,६२९ पुगेको छ । यसबाट प्रतिबैंक तथा वित्तीय संस्थाको शाखाबाट औसतमा करिब २,५१० जनसङ्ख्याले सेवा प्राप्त गर्नसक्ने देखिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार २०७९ फागुन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा कुल निक्षेप खाता सङ्ख्या चार करोड ९२ लाख पाँच हजार र कर्जा खाता सङ्ख्या १८ लाख ५५ हजार रहेको छ ।