Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मर्जरमा जाने सहकारीलाई काठमाडौँ महानगरपालिकाको कर छुट

२०७९ चैत्र २९ गते

बैंकिङ खबर/काठमाडौं महानगरपालिकाले सहकारी संघ–संस्थालाई मर्जरका लागि प्रोत्साहन गर्ने भएको छ । आवश्यकताभन्दा बढी संख्यामा सहकारी संघ–संस्थाहरु खुल्दा जोखिमसँगै क्षमतामा समेत ह्रास आएको निष्कर्ष निकाल्दै महानगरपालिकाले मर्जरमा जाने सहकारी संघ–संस्थालाई प्रोत्साहन गर्ने भएको हो ।

महानगरपालिका सहकारी विभागले मर्जरमा जाने सहकारी संघ–संस्थालाई दुई वर्षसम्मको व्यवसायिक आयकर छुट दिने जनाएको छ । महानगरको सहकारी विभागका उपनिर्देशक विमला कोइरालाले एकिकरण (मर्जर) मा जाने सहकारीलाई मर्जर भएको आर्थिक वर्ष र लगत्तै २ वर्षको व्यवसाय कर छुट दिने जानकारी दिइन् ।

महानगरपालिका भित्रका सहकारीको क्षमता वृद्धि एवम् उत्पादनमा केन्द्रित गर्न महानगरले महिला सहकारीलाई वडामा व्यवसाय दर्ता गर्दा कर छुट दिने व्यवस्था समेत मिलाइएको जानकारी दिइन् । हाल काठमाडौँ महानगरको क्षेत्राधिकारभित्र १९५५ वटा सहकारी संस्थाहरु सञ्चालनमा छन् । जसमध्ये अधिकतम ८३.२७ प्रतिशत अर्थात् १६२८ वटा बचत तथा ऋणको काम गर्ने सहकारी रहेका छन् ।

यस्तै, २६४ वटा बहुउद्देश्यीय सहकारी, १५ वटा कृषि सहकारी, १३ वटा उपभोक्ता सहकारी, ३ वटा सीपमुलक, शिक्षा, सञ्चार, श्रमिक, पर्यटन, साझा, चिया र अन्य ५ वटा सहकारी रहेका छन् । झण्डै २ हजारवटा सहकारी महानगरभित्र रहेपनि मुस्किलले १० प्रतिशतले मात्र विषयगत काम गर्ने गरेको तर ९० प्रतिशतले नाम एउटा भएपनि काम भने बचत तथा ऋण सहकारीकै गर्ने गरेको उनले बताइन् ।