
बैंकिङ खबर/नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सरकारले सबै कुराको जिम्मा लिन नसक्ने भएकाले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण गर्न सबैले बीमा गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणले वीरगञ्ज महानगरपालिकामा आयोजना गरेको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘सबै कुराको जिम्मा सरकारले लिन सक्दैन, सरकारले आफ्नो काम गर्छ । जोखिम लिने काम बीमा कम्पनीको हो, त्यसैले सबैले बीमा गर्नुपर्छ । बीमा गरेपछि बीमा दाबी भुक्तानी अवश्य पाइन्छ ।’
अध्यक्ष सिलवालले बीमा व्यवसायमा देखिएको अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण गर्न प्राधिकरण दृढताका साथ अगाडि बढिरहेको बताए । उनले मधेश प्रदेशमा अझै पनि बीमाको पहुँच न्यून रहेको बताए । बीमाको पहुँच बढाउन स्थानीय सरकार अग्रसर हुनुपर्ने उनले बताए ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बीमा कम्पनीहरूले बीमा गर्ने तर दाबी दिने बेलामा विभिन्न बहाना बनाएर हैरान पार्ने गरेका गुनासाहरू आउने गरेको बताए । उनले दाबी भुक्तानी स्थानीयस्तरबाट छिटोछरितो रूपमा हुने ठोस नीतिगत व्यवस्था गर्न प्राधिकरणसँग आग्रह गरे । प्रमुख सिंहले स्वास्थ्य बीमामा धेरै समस्या देखिएकाले स्वास्थ्य बीमालाई नेपाल बीमा प्राधिकरण मातहत राखेर प्रभावकारी बनाउन र वैदेशिक रोजगारीमा जानेहरूका लागि स्थानीयस्तरबाट नै बीमा गर्ने व्यवस्था गर्न आग्रह गरे।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई छिटोछरितो तुल्याउन, बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयलाई सुविधा सम्पन्न बनाउन र बीमा गर्नका लागि गाउँ गाउँमा जान बीमा कम्पनीहरूलाई प्राधिकरणले निर्देशन दिएको बताए ।