Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धमाधम खुल्दै आईपीओ

२०७९ माघ १३ गते

बैंकिङ खबर/ पछिल्लो समय विभिन्न कम्पनीका आईपीओहरु धमाधम खुल्न थालेका छन् । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्काशन गरिसकेको छ ।

त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्रमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २७ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

यसैबीच सुपरमाई हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ८ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

यसैबीच बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारण लगानीकर्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको छ।

लघुवित्तले आफ्नो जारी पूँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो।

सोमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गर्न लागेको हो भने १ हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले लघुवित्तको आईपीओमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यसैगरी, सर्वसाधारणले फागुन १८ गतेदेखि २३ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २ गतेसम्म लम्बिनेछ।

सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै मिड सोलु हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ ११ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले १४ करोड ९६ लाख ६८ हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

Ad