
बैंकिङ खबर/ शुभम पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले माघ १८ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ८१ हजार ८२२ कित्ता शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणका लािग छुट्याएको शेयरमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन नदिएको शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई, २९ हजार ३० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ भने ११ हाजर ६१० कित्ता कर्मचारीहरुलाई छुट्याएको छ।
सो शेयरमा माघ २२ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन ३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेका सम्पूर्ण आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण तथा सञ्चालन गरिएको अनलाइन सफ्टवेयर मेरो शेयर प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ। कम्पनीले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा नम्बर ९ स्थित पिलुवा खोला साना जलविद्युत आयोजनाबाट ९९० किलोवाट जलविद्युत उत्पादन गर्ने उद्देश्य अनुरुप पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण, उत्पादन तथा सञ्चालन गर्न नेपाल सरकारको उर्जा मन्त्रालयबाट २०६४ चैत २१ गते विद्युत उत्पादनको अनुमति पाएको थियो। कम्पनीले आयेजना निर्माण सम्पन्न गरी २०६८ साउन १ गतेबाट व्यापारिक उत्पादन शुरु गरिसकेको छ।
सो आयोजनाको कुल लागत १४ करोड ३९ लाख ९० हजार ८८९ रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १४ करोड ५४ लाख ४५ हजार ३४२ रुपैयाँ रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ९.०९ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २९.८६ वर्ष रहेको छ।
मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने मिति पुनः थप गरेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा यस अघि माघ १० गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको थियो। तर, माग बमोजिम आवेदन प्राप्त नभएकोले ५ दिन थप गरिएको कम्पनीले जनाएको छ। सो आईपीओमा स्थानियले अब माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशनमा ल्याएको हो।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिने शेयरमध्ये ५ प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने, बाँकी ५ प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछ। त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
७ मेगावाटको क्षमता रहेको यस आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड ८० लाख रहेको छ भने आयोजनाको कुल अनुमानित लागत १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमति २६ वर्ष बाँकी रहेको छ। आयोजनाको लगानी फिर्ता हुने अवधि ८.१ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १९.५ वर्ष रहेको छ।