
बैंकिङ खबर/ सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो। कम्पनीले जारी पूँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात ३३ करोड ३२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३३ लाख ३२ हजार ५०० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो।
जसमध्ये आयोजना अति प्रभावित क्षेत्र फुङलिङ नगरपालिका वडा नं. १, २, ९ र १०, फक्ताङलुङ गाउँपालिका वडा नं. १ तथा भिक्वाखोला गाउँपालिका वडा नं. १ र २, मेरिङदेन गाउँपालिका वडा नं. २ र ३, आठराई त्रिवेणी गाउँपालिका वडा नं. ५ तथा मैवाखोला गाउँपालिका वडा नं. १ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात १३ लाख ३३ हजार कित्ता र आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाका बासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात १९ लाख ९९ हजार ५०० कित्ता शेयर निष्काशन गरेको हो।
यसका साथै सर्वसाधारणमा निष्काशन हुने ४९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ९९ हजार ८७५ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
सो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ १८ गते हुनेछ भने ढिलोमा फागुन ४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १८ गतेभित्र आवेदन दिनु पर्नेछ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको ७३ मेगावाटको मध्य तमोर जलविद्युत आयोजनाले कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको प्रति मेगावाट लागत १८ करोड २६ लाख २ हजार ७४० रुपैयाँ अनुमान गरिएको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६।७३ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १३।३६ वर्ष रहेको छ। कम्पनीको विद्युत उत्पादन अनुमति २९ वर्ष ८ महिना बाँकी रहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले सानिमा मिडिल तमोर हाइड्रोपावरको कार्यालय, सानिमाबैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र सनराइज बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। प्रति दरखास्त फारामबापत आवेदकले २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाटआवेदन दिन सक्नेछन्।
यसैबीच माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बरारबको ३४ लाख कित्ता शेयर आईपीओ निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १० लाख कित्ता शेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता कम्पनीले यस अघि निष्काशन गरिसकेको छ। त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ भने ४८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी रहेको १९ लाख ९२ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिभित्रमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि माघ २७ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले प्रबर्धन गरिरहेको १४.९ मेगावाटको माया खोला जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १३ लाख ४२ हजार २८१ रुपैयाँ ९० पैसा रहेको छ भने आयोजनाको कुल अनुमानित लागत ३ अर्ब रुपैयाँ रहेको छ।
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २०७१ जेठ ६ गतेदेखि २१०६ जेठ २५ गतेसम्म रहनेछ। आयोजनाको लगानी फिर्ता हुने अवधि ७.३८ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १७.१७ वर्ष रहेको छ।