
बैंकिङ/ पछिल्लो समय धमाधम आईपीओ खुल्न थालेको छ । बुधबारमात्रै दुई कम्पनीको आईपीओ खुलेको छ । सुपरमाई हाइड्रोपावर लिमिटेडले मंसिर २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो भने ५० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरु (अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका (बरबोटे) ५, सुम्बेक २ र माईजोगमाई गाँउपालिका ५ सोयाँङ्गका स्थानिय बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता र आयोजना प्रभावित क्षेत्र बाहेक इलाम जिल्लाको अन्य क्षेत्रमा बसोवास गर्ने स्थानिय बासिन्दाहरुको लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता शेयर बाँडफाँट गरिनेछ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। सो आईपीओमा पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरिएको शेयरमा सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस २१ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले गुडविल फाइनान्स, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र सुपरमाई हाइड्रोपावर लिमिटेडको कार्यालयबाट आवेदन दिन सक्नेछ। त्यसैगरी, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
सुपरमाई हाइड्रोपावरद्वारा प्रबद्र्धित ७.८ मेगावाटको सुपरमाई जलविद्युत आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित १९ करोड ८ लाख ४८ हजार २०५ रुपैयाँ रहेको छ भने आयोजनाको कुल लागत १ अर्ब ४८ करोड ८६ लाख १६ हजार रुपैयाँ रहेको छ। आयोजनाले २०७५ कात्तिक ११ गतेदेखि व्यापारित विद्युत उत्पादन गरिरहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र २०७३ फागुन ३० गतेदेखि २१०८ फागुन २९ गतेसम्म रहनेछ। आयोजनाको लगानी फिर्ता हुने अवधि ५.७९ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि ७.२७ वर्ष रहेको छ।
यस्तै बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि आज (मंसिर २१ गते) देखि आईपीओ निष्काशन तथा बिक्र खुला गर्दैछ। कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट गरेको कम्पनीले बताएको छ।
बाँकी रहेको १ लाख ४ हजार कित्ता शेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता शेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो। सोमध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ। लगानीकर्ताले बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
३
निष्काशन बन्द छिटोमा मंसिर २६ गते हुनेछ भने ढिलोमा पुस ६ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ। यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपबाट पनि सि आस्बा प्रणाली मार्फत आवेदन दिन सकिनेछ।
काठमाडौँको बबरमहलमा रजिष्ट्रार्ड कार्यालय रहेको यस कम्पनीले बाग्लुङ जिल्लाको कुश्मीसेरा र सर्कुवा गाविसको सिमाना स्थित १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाको बाँध निर्माण सम्पन्न गरी २०७४ असार २४ गतेबाट व्यापारिक उत्पादन शुरु गरी नियमित रुपमा नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ। विद्युत उत्पादनका लागि कम्पनीले २०७२ भदौ ७ गते अनुमति प्राप्त गरेको थियो। सो अनुमति २१०७ असार २७ गतेसम्म कायम रहनेछ।
आर्थिक वर्ष २०७५÷७६ मा आयोजनाको कुल लागत ३१ करोड २२ लाख १८ हजार ८५९ रुपैयाँ रहेको छ। आयोजनाको प्रति मेगावाट लागत २० करोड ८१ लाख ४५ हजार ९०१ रुपैयाँ रहेको छ। यस अनुसार साधारण लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि २० वर्ष ६ महिना रहेको छ।