
बैंकिङ खबर/ पुँजीबजार विस्तारका काम रोकिए कडा प्रतिवाद गर्ने लगानीकर्ताहरुले चेतावनी दिएका छन् । लगानीकर्ताहरुका ९ वटा संघसंगठन संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन्। संयुक्त विज्ञप्तिमा जारी गर्नेमा नेपाल इन्भेस्टर्स फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता संघ, नेपाल सेयरधनी संघ, नेपाल धितोपत्र लगानीकर्ता संघ, स्वतन्त्र पुँजीबजार संघ, स्वतन्त्र पुँजीबजार सुधार संघ, सेयर लगानीकर्ता दबाब समूह र लगानीकर्ता हित संरक्षण मञ्च रहेका छन् ।
विज्ञप्तिमा नेपालको पुँजीबजारलाई सही नीति–नियम, अत्याधुनिक प्रविधि, पूर्वाधार र कडा नियमनद्वारा व्यवस्थित गर्न लगानीकर्तासँग भएको सहमति र मागबमोजिम नेपाल स्टक एक्सचेन्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारका अन्य निकायहरुद्वारा चालिएका कदमहरुमा केही स्वार्थी समूहबाट बाधा सिर्जना गर्ने र रोक्ने काम भएमा ५४ लाख आमनेपाली लगानीकर्ताका सबै संघसंस्थाहरु फेरि सडकमा उत्रिने चेतावनी दिइएको छ ।
नेपालको पुँजीबजारलाई आधुनिक हुनै नदिने र सीमित व्यक्ति वा संस्थाको पकडमा मात्र राखिरहन खोज्ने संविधान र प्रतिस्पर्धा कानुनविपरीत प्रवृत्तिले ४० खर्बभन्दा बढी पुँजीकरण पुगेको बजार आज २८ खर्बमा झरेको विज्ञप्तिमा जनाइएको छ । ‘लाखौँ लगानीकर्तालाई पलायन हुन बाध्य पारेको अवस्था छ भने हुनै लागेका सुधार र विस्तारका काम रोकिए झन ठूलो क्षति नेपालको पुँजीबजारले भोग्नुपर्ने र वर्र्षौं पछाडि धकेलिनेतर्फ सम्बन्धित सरोकारवालाहरुलाई सतर्क गराउँछौँ’, विज्ञप्तिमा भनिएको छ ।
