Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

भारतीय शेयर बजारः दुई हप्तामै ७५ अर्ब भारु बाहिरियो

२०७९ आश्विन ३१ गते

बैंकिङ खबर/पछिल्लो केहिदिनयता भारतीय शेयर बजार लगातार घट्न थालेको छ । विदेशी लगानीकर्ताले भारतीय बजारमा भएको शेयर धमाधम बेच्न थालेपछि लगातार बजार घट्न थालेको हो ।

अक्टोबरको पहिलो दुई हप्तामै विदेशी लगानीकर्ताले ७५ अर्ब भारुभन्दा धेरैको शेयर बेचिसकेका बीबीसी हिन्दीले जनाएको छ । विश्वका सबै अर्थतन्त्रमध्ये भारत अझै बलियो मानिने भए पनि विदेशी लगानीकर्ता भने चिन्तित छन् । भारतीय रिजर्भ बैंकका सबै प्रयासका बाबजुद पनि मूल्यवृद्धि नियन्त्रणमा आउन सकेको छैन।

ब्याजदरमा निरन्तर वृद्धि र धेरै अन्तर्राष्ट्रिय संस्थाले भारतको कुल गार्हस्थ उत्पादनको वृद्धि कम हुने प्रक्षेपण गरेका कारण विदेशी लगानीकर्ता आत्तिएका खबरमा उल्लेख छ । यस्तै, अमेरिकामा ब्याजदर बढेपछि लगानीकर्ताले भारतबाट पैसा निकालेर अमेरिकी बैंकमै बचत र लगानी गर्न थालेका छन् ।

सन् २०२२ पछि मात्रै विदेशी लगानीकर्ताले भारतीय शेयरबजारबाट एक लाख ७६ हजार करोड भारु बराबरको शेयर बेचेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले सन् २०२२/२३ को लागि भारतको आर्थिक वृद्धिको प्रक्षेपण ७ दशमलव ४ प्रतिशतबाट घटाएर ६ दशमलव ८ प्रतिशतमा झारेको छ । आईएमएफले दोस्रो पटक आफ्नो अनुमान कटौती गरेको हो।