
बैंकिङ खबर/नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबार नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ ।
सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो । धितोपत्र ऐन २०६४ को दफा ५७ को उपदफा २ (ग) को ‘धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रका लागि निवेदन दिनुपर्ने शीर्षकमा’ मा ‘धितोपत्र बजारको सदस्यता लिएरमात्र व्यवसाय गर्न पाउने तोकिएबमोजिमका व्यवसायीका हकमा सम्बन्धित धितोपत्र बजारको सिफारिसपत्र’ भनिएको छ। त्यसैले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ । नेप्सेमा आइतबार कार्यालय समयसम्म ३८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि सिफारिस माग गरेका छन्।


