२०७३ आश्विन १९ गते

हिमालयन बैंकबाट साढे पाँच हजारभन्दा बढीलाई अनुदान वितरण

himalayan bankहिमालयन बैंकले मंगलबारसम्ममा पाँच हजार पाँच सय ६५ जना भूकम्प पिडितहरुलाई निजी आवास पुनःनिर्माण अनुदान वितरण गरेको छ । बैंकले २०७३ जेष्ठमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग गत वर्षको भूकम्पमा क्षति भएका निजी आवास पुनःनिर्माणका लागि अनुदान वितरण गर्ने सम्झौता वमोजिम बैंकको उपत्यका वाहिरका ७ वटा जिल्ला शाखाहरुमा १३ हजार नौ सय १७ वटा लाभग्राहीहरुको खाता खोलिसकेको जानकारी दिएको छ । बैंकले भूकम्प प्रभावित जिल्लामा नुवाकोटको बट्टार, रसुवाको वेत्रावती, धादिङ्गको धादिङ्गवेंशी, मकवानपुरको हेटौंडा, काभ्रेको बनेपा, सिन्धुपाल्चोकको वाह्रविसे तथा गोर्खा जिल्लाको गोर्खा नगरपालिकामा रहेका शाखाहरुबाट अनुदान वितरण गरिरहेको छ । 

बैंकमा हालसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट ३९ करोड ५ लाख ५० हजार रुपैयाँ प्राप्त भएको बैंकले जनाएको छ । जसबाट सात हजार आठ सय ११ वटा खातामा रकम जम्मा भइसकेको बताइएको छ । बैंकमा खोलिएको खातामध्येबाट हालसम्म ५,५६५ जना लाभग्राहीहरुले रकम बुझिसकेका छन् । बैंकले सकेसम्म छिटो भन्दा छिटो अनुदान वितरण गर्न सम्वन्धित जिल्ला विकास समिति तथा गा.वि.स. सचिवहरुसँग समन्वय गरी हरेक दिन विहान १०ः०० बजे देखि ४ः०० बजे सम्म तथा यसै महिना देखि विदाको दिनमा पनि राहत वितरण गर्ने बैंकले जनाएको छ ।