Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्ड र नेप्सेलाई सात दिन भित्र प्रगति विवरण बुझाउन अर्थ समितिको निर्देशन

२०७९ आश्विन ४ गते

बैंकिङ खबर/ नयाँ स्टक एक्सचेन्ज र नयाँ ब्रोकर कम्पनी थप गर्ने विषयमा नेपाल धितोपत्र बोर्डले अघि बढाएको कार्यको पूर्ण विवरण पेस गर्न संसद्को अर्थ समितिले निर्देशन दिएको छ। गत भदौ ३१ गते लेखेको पत्रको जबाफ सात दिन भित्र दिन समितिले भनेको छ।

नेपालमा दोस्रो स्टक एक्सचेन्जको अनुमति दिने र धितोपत्र दलाल व्यवसायीलाई नयाँ अनुमति दिने गरी नियमावली संशोधन गरेको विषयलाई नेप्से कर्मचारी सङ्घ र नेपाल स्टक ब्रोकर एसोसिएसनले समिति सभापति समक्ष दिएको निवेदन उपर कारबाही गर्दै उक्त विवरण माग गरेको पत्रमा उल्लेख छ।

“नयाँ स्टक एक्सचेन्ज ल्याउने विषय सार्वजनिक संस्थान सञ्चालन कसरी गर्ने भन्ने दीर्घकालीन विषयसँग सम्बन्धित रहेको र धितोपत्र दलाल व्यवसायीलाई अनुमति दिनु अगाडि मुद्रा बजार र पूँजी बजार सम्बन्धित समितिको प्रतिवेदन २०७७ अनुसार आवश्यक तयारी पुरा गर्न समितिले निर्देशन दिएका विषय कार्यान्वयन भए नभएको सम्बन्धमा समितिमा गम्भीर रुपमा छलफल गर्नु पर्ने देखिएको र तत्काल समितिको बैठक बस्न सक्ने अवस्था नभएकोले यस सम्बन्धमा विस्तृत विवरण सम्बन्धित निकायसँग माग गरी अभिलेख राख्ने साथै समितिको बैठक बस्न साथ तत्काल छलफल गर्ने व्यवस्था मिलाउने भनी तोक आदेश भएकोले यस सम्बन्धमा भएका काम कारबाही सम्बन्धी विस्तृत विवरण ७ दिन भित्र समितिमा आइपुग्ने उपलब्ध गराइदिन अनुरोध छ” समितिले लेखेको पत्रमा भनिएको छ।