
बैंकिङ खबर/ ६ वटा मर्चेन्ट बैंकरले नेपाल धितोपत्र बोर्डबाट विशिष्टीकृत लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्नका लागि अनुमति दर्ता प्रमाणपत्र पाएका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न ६ कम्पनीलाई अनुमति दिएको हो ।
प्रभु क्यापिटल, एनआईबीएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल इन्भेस्टमेन्ट क्यापिटल र एनआईसी एसिया क्यापिटलले अनुमति पाएका हुन् । यसअघि अनुमति पाएका दुई कम्पनी ग्लोबल इक्विटी फण्ड र अवसर इक्विटी फण्डसहित बोर्डबाट हालसम्म जम्मा ८ वटा कम्पनीले विशिष्टीकृत लगानी कोषअन्तर्गत कोष व्यवस्थापकको रूपमा काम गर्न अनुमति पाएका छन् ।
यी ८ कम्पनीलाई नेपाली लगानीको क्षेत्रमा निजी इक्विटी र भेन्चर क्यापिटलजस्ता नवीन सेवाहरु प्रदान गर्ने बाटो खुलेको छ । नवीनतम ज्ञान, सीप र क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा वाैद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई सञ्चालन गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेञ्चर क्यापिटल, प्राइभेट इक्वीटी फण्ड, हेज फण्डजस्ता उपकरण मार्फत् लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने क्यापिटलले जनाएको छ ।
यस्तो कोषमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, पेन्सन कोष, अन्तर्राष्ट्रिय लगानीकर्ता, नेपाली नागरिक तथा गैरआवासीय नेपालीले लगानी गर्न सक्नेछन् । जसबाट स्वदेशी स्रोत परिचालन भई देशमा प्रत्यक्ष वैदेशिक लगानीलाई सहजीकरण र आकर्षित गरी समग्र पुँजी बजार विस्तार गर्न सहयोग पुग्नेछ ।



