२०७३ भाद्र २९ गते

इन्भेष्टमेन्ट बैंक र एनआईबीएलको लाभांश पनि बैंक खातामै, मागे खाता नम्बर

x-defaultनेपाल इन्भेस्टमेन्ट बैंकले लगानीकर्ताको बैंक खाता मागेको छ । दसैंअघि साधारण सभा बोलाएको इन्भेस्टमेन्टले सबै सेयरधनीलाई आफ्नो बैंक खाता एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेडमा बुझाउन आग्रह गरेको छ । क्लियरिङ हाउसको सदस्य भएको जुनसुकै बैंकको खाता भए पनि अब सोही खातामा नगद लाभांश जम्मा हुनेछ । लगानीकर्ताले पहिलोपटक खातासहित अन्य विवरण तोकिएको फारममा भरेर बुझाउनुपर्नेछ । इन्भेस्टमेन्ट बैंकले फारम अनलाइनमा डाउनलोड गरेर पनि भर्न सक्ने सुविधा दिएको छ । इन्भेस्टमेन्ट बैंकमै खाता भएका सेयरधनीले अनलाइनबाटै फारम भरेर पनि बुझाउन सक्नेछन् । यसका लागि www.niblcapital.com मा गएर फारम लिन सकिनेछ । 

एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेडले पनि म्युचुअल फन्डका लगानीकर्ताको नगद लाभांश बैंक खातामै पठाउने भएको छ । एनआइबीएल समृद्धि फन्ड–१ का युनिटहोल्डरसँग कम्पनीले बैंक खाता मागेको छ । इन्भेस्टमेन्ट बैंकमा खाता हुनेले अनलाइनमार्फत निवेदन दिन सक्नेछन् । खाताका साथ लगानीकर्ताले डिम्याट नम्बर, बाबु, बाजेको नाम, बैंक खाता नम्बरलगायतका विवरण भर्नुपर्ने बताइएको छ ।  

बैंक तथा वित्तीय संस्था नियामक नेपाल राष्ट्र बैंक र पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले नगद लाभांश अनिवार्यरूपमा बैंक खातामा पठाउन निर्देशन जारी गरेपछि सूचीकृत कम्पनीले यसको पालना गर्न थालेका हुन् ।