
बैंकिङ खबर/ नेपाल सरकार, अर्थ मन्त्रालय र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबीच ०७८ असोजमा भएको सम्झौता बमोजिम ६ बर्षको लागि संचालन हुने कृषिको समावेशी रुपान्तरणका लागि मूल्य श्रृंखला परियोजना कार्यक्रमको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि बैकुण्ठ अधिकारीले तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक कार्यक्रमका बीच विधिवत शुभारम्भ गरेका छन् ।
हालैका दिनमा नेपाल सरकारले कृषि लगानीका लागि अगुवा बैंकको रुपमा परिभाषित गरेको, किसान कार्ड/एप्स जारी गरिरहेको, कृषि बण्ड जारी गर श्रोत संकलनमार्फत कृषि क्षेत्रमा वित्तीय सहयोग पुर्याउँदै आएको कृषि विकास बैंकलाई उक्त कार्यक्रम संचालनको लागि नेपाल सरकारमार्फत आगामी ६ बर्षभित्र लगानी गर्ने गरी करिब ८० मिलियन अमेरिकी डलर सहुलियत वित्तीय ऋण सहयोग उपलब्ध हुनेछ। यस कार्यक्रम लुम्बिनी, बागमती र मधेश प्रदेशका २८ जिल्लाहरुमा १२ वटा बाली तथा पशु वस्तुको मूल्य श्रृंखला विकास गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा लगानी गर्नका लागि कृषि विकास बैंकलाई कार्यक्रम कार्यान्वयन निकायको रुपमा तोकिएको छ।
उक्त अवसरमा बैंकका उपमहाप्रबन्धक बाबुकाजी थापाले परियोजनाको संक्षिप्त जानकारी प्रस्तुत गर्दै यस कार्यक्रमले बजार मागमा आधारित कृषि बस्तुको व्यवसायिकरण मार्फत साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजना हुने तथा कृषिको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा रहेको र प्रत्यक्षरूपमा देशभरिका १ लाख २० हजार साना कृषक परिवारहरु विशेषगरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकोपार्जनमा सुधार गर्ने बताए। उनले कार्यक्रमको तेश्रो पूर्वाधार संभाग कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेशले संचालन गर्ने समेत जानकारी गराए।
कार्यक्रमको शुभारम्भ गर्दै कृषि सचिव अधिकारीले परियोजना कार्यान्वयनमा मन्त्रालयको भूमिका प्रष्ट पार्दै कार्यक्रम कार्यान्वयनका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले कृषि विकास बैंक किसानबाटै टाढा भएको हो की भन्ने भान भएको वर्तमान परिवेशमा यस परियोजनाको माध्यमबाट फेरि किसानका माझमा आफ्नो पहिचानलाई अझ प्रष्ट पार्ने विश्वास गर्दै परियोजनाको सफल कार्यान्वयनको लागि शुभकामनासमेत व्यक्त गरे ।
कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले कार्यक्रमको समापन गर्दै परियोजना अन्तर्गतको यो रकम बैंकले स्थापना कालकै उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी तथा आयात प्रतिस्थापन हुने गरी मूल्य श्रृंखलाको अवधारणाबाट लगानी गरिने बताए । साथै उनले सो कार्यक्रम गर्नका लागि कृषि विकास बैंकलाई जिम्मेवारी दिइएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय लगायत सरोकारवाला सबै निकायलाई धन्यवाद ज्ञापन गरे।