Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

साताभर के के भए बैंकिङ गतिविधि ? हेर्नुहास्, एउटै पानामा

२०७८ फाल्गुन २० गते

बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता राष्ट्र बैंकले ल्याएको विभिन्न नीतिले बढी चर्चा पायो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ :-

राष्ट्र बैंकद्वारा ‘एकीकृत परिपत्र–२०७८’ संशोधन

नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको छ। विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संशोधन गरेको हो। सोहीबमोजिम गर्न गराउन विदेशी विनियम (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको छ।

यसैगरी बैंकले गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा कुनै एक कागजपत्रको प्रतिलिपि लिनुपर्ने व्यवस्था गरेको छ। जसअनुसार नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालको अद्यावधिक परिचयपत्र, गैरआवासीय नेपाली संघबाट जारी भएको अद्यावधिक परिचयपत्र र सम्बन्धित व्यक्तिको राहदान (स्वदेशी वा विदेशी) वा साबिकमा स्वयं वा निजको बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहीपछि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सदस्य मुलुकबाहेक अन्य मुलुकको नागरिकता लिएको भए विदेशी राहदानी वा नागरिकसहित त्यस्तो प्रमाणित हुने कागजात लिनुपर्नेछ।

यी उल्लेखित कुनै एक कागजपत्रसहित नाता प्रमाणित हुने कागजातका आधारमा नाबालकको नाममा समेत यस्तो खाता खोल्न तथा सञ्चालन गर्न सकिने राष्ट्र बैंकले व्यवस्था गरेको छ।

यसैगरी गैरआवासीय नेपालीबाट प्रवर्द्धित विदेशस्थित संस्थाको खाता खोल्दा तथा सञ्चालन गर्दा माथि उल्लेखित कागजातको प्रतिलिपिसमेत लिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ को एकीकृत इ.प्रा. परिपत्रः ०१-७८ को दफा १.३.१ को व्यवस्थालाई खारेज गरेको छ।

राष्ट्र बैंकले घटायाे आन्तरिक विप्रेषणको सीमा

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। राष्ट्र बैंकले आजैदेखि लागू हुनेगरि रकम स्थानान्तरणको सीमा घटाएको हो। राष्ट्र बैंकले स्वदेशमा रकम स्थानान्तरण गर्ने सम्बन्धमा एक सूचना जारी गर्दै विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’हरूले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन रु २५ हजारसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ। यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा एक लाखसम्म थियो ।

राष्ट्र बैंकले विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्तलाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमामा भने कुनै परिवर्तन नगरिएको जनाएको छ।

नबिल बैंकले एनबी बैंकलाई गाभ्ने, राष्ट्र बैंकले दियो स्वीकृति

नबिल बैंकले एनबी बैंकलाई गाभ्ने भएको छ । दुई बैंकले गाभ्ने र गाभिने सम्बन्धि पठाएको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले सहमति दिएको हो । अब दुबै बैंकले एक आपसमा गाभ्न र गाभिने प्रक्रियालाई तीव्रता दिनुपर्नेछ । राष्ट्र बैंकले गाभ्ने र गाभिने सम्बन्धि सैद्धान्तिक स्वीकृति दिँदै ६ महिनाभित्र सबै प्रक्रिया पूरा गरी एकिकृत कारोबार गर्न निर्देशन दिएको छ ।

दुई बैंकले भने प्राप्तिको कार्य ५ महिना भित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । गत पुस २९ गते दुई बैंकले प्राप्ति सम्बन्धी समझदारी गरेका थिए । दुई बैंकको समझदारी पत्र अनुसार नेपाल बङ्गलादेश बैंकको १०० कित्ता सेयर बराबर नबिलको ४३ कित्ता हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम भएको छ ।

सो प्रारम्भिक सेयर आदान प्रदान अनुपात सम्पत्ति दायित्व मूल्याङ्कन प्रतिवेदनको मूल्याङ्कनलाई समेत आधार मानी अन्तिम रुपमा तय हुनेछ । दुबै बैंकले नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिलाई प्रोत्साहन गर्ने गरी लिएको नीति र बैंकहरुको दीर्घकालीन रणनैतिक योजना समेतलाई मध्यनजर गर्दै सम्झौता गरेर अघि बढेका छन् ।

अन्तरबैंक ब्याजदर झण्डै ७ प्रतिशत नजिक

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव चर्कदै गएको छ । तरलता अभाव बढ्दै जाँदा अन्तरबैंक ब्याजदर झण्डै ७ प्रतिशत नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल अन्तरबैंक ब्याजदर फागुन १६ गतेसम्म ६.९६ प्रतिशत छ । फागुन १५ गते भने अन्तरबैंक ब्याजदर ६.९८ प्रतिशत थियो ।

यसअघि अन्तरबैंक ब्याजदर ५ प्रतिशतभन्दा थोरै बढी हुने गरेकोमा अहिले करिब ७ प्रतिशतको हाराहारीमा पुगेको छ । माघ २८ गते अन्तरबैंक ब्याजदर ५.०२ प्रतिशत थियो । त्यसपछि घटेर ५ प्रतिशतभन्दा तल रहेको अन्तरबैंक ब्याजदर बढेर २ सातामा बढेर ७ प्रतिशतको हाराहारीमा पुगेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा कर्जा निक्षेप अनुपात (सीडी) रेसियो असार मसान्तमा ९० प्रतिशतसम्म पुर्याउन पाउने व्यवस्था गरेको छ ।
तर अहिले कतिपय बैंकहरुको सीडी रेसियो ९५ प्रतिशतको हाराहारीमा रहेको छ । समग्र प्रणालीमा सीडी रेसियो १६ गतेसम्म ९०.३६ प्रतिशत छ ।

राष्ट्र बैंकलाई अनुरोध गर्ने, राष्ट्र बैंकले पैसा पठाउन समय लाग्ने भएकाले बैंकलाई आवश्यक पर्ने रकम अन्तरबैंकबाट तत्काल पैसा लिएको कारण अन्तरबैंक ब्याजदर ६.९६ प्रतिशत पुगेको देखिएको छ । राष्ट्र बैंकका अनुसार १६ गतेसम्म वाणिज्य बैंकमा ४३ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

सेयर बजारका विकृति तत्काल सुधार गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारमा राम्रा भन्दा धेरै विकृति भएकाले तत्काल सुधार गर्न निर्देशन दिएका छन् । बुधबार अर्थ मन्त्रालयमा आयोजित पुँजीबजारको वर्तमान अवस्था सम्बन्धी छलफल कार्यक्रममा अर्थमन्त्री शर्माले बजारमा भित्री कारोबार, कर्नरिङलगायत गतिविधि बढेकाले लगानीकर्ताको सम्पत्तिको सुरक्षाका लागि विशेष प्रवन्ध मिलाउनुपर्ने बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीलगायतको उपस्थितिमा अर्थमन्त्री शर्माले बजार सुधारका लागि निर्देशन दिएका हुन् ।

‘पूँजी बजारको विकासका लागि काम गर्नुस्, कतैको दबाबमा प¥यो भने संस्थाको काम हुँदैन,’ अध्यक्ष हमालको नाम नै तोकेर उनले भने, ‘पूँजी बजारको शिक्षा सहितको सुरक्षित कारोबार गर्न कस्ता नीति चाहिन्छ भन्नुस् ।’

कृषि विकास बैंकले पायाे नयाँ उपमहाप्रबन्धक

कृषि विकास बैंकले प्रताप सुवेदीलाई उपमहाप्रबन्धक पदमा नियुक्त गरेकाे छ। बैंककाे संचालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हाे।

सुवेदी २१ वर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्। उनी साँढे तीन वर्षदेखि बैंककाे कायममुकायम महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रवेश गर्नु अघि सुवेदीले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए।

राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा  खड्का 

राष्ट्रिय सहकारी बैंक लिमिटेडको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् । पदपूर्ति उप–समितिको सिफारिस अनुसार खड्काले आइतबारदेखि कार्यभार सम्हालेका छन् । नायव महाप्रबन्धक खड्काले यसअघि नविल बैंक, बैंक अफ् काठमाडौं, प्राईम कमर्सियल बैंक, टुरिजम बैंक लगायतका बैंकहरुमा उच्च व्यवस्थापनमा रहेर काम गरेका थिए ।

तत्कालिन समयमा टुरिजम बैंक मर्ज पश्चात बनेको मेगा बैंक हुँदै २९ वर्ष देखि उनले बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका छन् । साथै उनको बैंकिङ क्षेत्रमा नेतृत्व विकास, व्यवसाय विस्तार, संस्थागत विकास, कर्पोरेट म्यानेजमेन्ट लगायतको क्षेत्रहरुमा विशेष अनुभव रहेको छ ।

सहकारीको ब्याजदर पुनः बढ्ने

सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर चैतमा पुनः बढ्ने भएको छ । सहकारी पत्रकार समाजले आयोजना गरेको ‘एकीकृत निर्देशन’ विषयक छलफलमा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले चैतमा सहकारी संस्थाहरुको ब्याजदर बढ्ने सम्भावना रहेको बताए ।

सहकारीको सन्दर्भ ब्याजदरसँग मेलखाने माघसम्मको तथ्याङक राष्ट्र बैंकमा फागुन २२ गते आउने भन्दै अध्यक्ष उप्रेतीले भने, ‘फागुनमा आउने तथ्याङकमा बैंकको ब्याजदर पनि बढ्यो भने चैतमा सहकारी संस्थाहरुको पनि सन्दर्भ ब्याजदर बढ्ने छ ।’

नेपाल बैंकमा खुल्यो रोजगारी

सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा रोजगारीको आवेदन खुल्ला भएको छ । बैंकमा विभिन्न पदका लागि आवेदन खुल्ला गरेको हो ।बैंकले ६२ जना सहायक प्रबन्धक मागेको छ। सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ। त्यस्तै कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ।

बैंककाे सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सीए) मा २ र सहायक प्रबन्धक (आइटी) मा ४ जना मागेको छ। सहायक प्रबन्धकका लागि व्यवस्थापन वा अर्थशास्त्र (मानविकी) मा न्यूनतम स्नातकोत्तर हुनुपर्नेछ। सीएका लागि सिए/एसीसीए उत्तीर्ण हुनुपर्नेछ।

त्यस्तै आइटीमा दरखास्त दिन सूचना प्रविधिमा बीसीए/बीसीआइकम/बीआइटी/बीआइएम/बीएस्सी हुनुपर्नेछ। बैंकले सहायक र कनिष्ठ सहायकका लागि प्रदेशगत कोटा छुट्याएको छ। १४८ जना सहायक मागेको बैंकले प्रदेश १ र मधेसमा ३१/३१ जनाका लागि कोटा छुट्याएको छ। बैंकले बागमतीमा ५१, गण्डकीमा १०, लुम्बिनीमा २१ तथा कर्णाली र सुदूरपश्चिममा २/२ जना सहायक मागेको छ। यसका लागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण हुनुपर्नेछ। सहायक आइटी बागमतीका लागि २ जना माग गरिएको छ।

बैंकले ९१ जना कनिष्ठ सहायक मागेको छ। जसअनुसार प्रदेश १ मा १६, मधेसमा १५, बागमतीमा २७, गण्डकीमा १२, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदूरपश्चिममा ५ जना माग गरिएको छ। यसका लागि व्यवस्थापनमा प्रमाणपत्र/प्लस टु उत्तीर्ण हुनुपर्नेछ।

लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको स्थानमा आवेदन मागेको हो। इच्छुक र योग्य नागरिकले फागुन २० गतेदेखि चैत १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

रुस-युक्रेन युद्धः बैंकिङ क्षेत्र थप प्रभावित

रुस युक्रेन युद्धका कारण बैंकिङ क्षेत्र थप प्रभावित बनेको छ । रुसले पश्चिमा देशको प्रतिबन्धको असर रोक्न ब्याजदर ह्वात्तै बढाएको छ । रुसी केन्द्रीय बैंक द बैंक अफ रसियाले ९.५ प्रतिशत रहेको ब्याजदर एकैचोटि २० प्रतिशत पु¥याएको छ ।

विशेषगरी अमेरिका र सबैजसो युरोपेली राष्ट्रले आक्रमणको विरोध गर्दै रुसविरुद्ध असामान्य प्रतिबन्ध लगाएपछि भइरहेको रुसी मुद्रा रुबलको अवमूल्यन रोक्न र यसबाट भइरहेको महंगी नियन्त्रण गर्न ब्याजदर बढाउने निर्णय भएको छ । मस्कोले कम्पनीहरुलाई समेत ८० प्रतिशत विदेशी मुद्रा बिक्री गर्न आदेश दिएको केन्द्रीय बैंक र अर्थ मन्त्रालयले जनाएको छ ।

केन्द्रीय बैंकले भनेको छ, ‘रुसी अर्थतन्त्रको बाह्य अवस्थामा व्यापक परिवर्तन आएको छ ।’ यसैबीच रुसी केन्द्रीय बैंकले ब्रोकरहरुलाई विदेशीले गर्ने सेयर कारोबारमा पनि निलम्बन गर्न आदेश दिएको छ ।

विदेशीले रुसी लगानीको हिस्सा बेच्न खोजेसँगै यस्तो आदेश दिइएको हो । यस्तै रूसमा विभिन्न प्रतिबन्धका कारण लक्षित बैंकहरूका ग्राहकहरूले एप्पल पे, गुगल पे लगायतका कार्डहरु प्रयोग गर्न पाएका छैनन् । प्रतिबन्धको मारमा परेका धेरै रूसी बैंकहरूले जारी गरेका कार्डहरू प्रयोग गर्न नपाएका हुन् ।

रूसको केन्द्रीय बैंकले एप्पल पे र गुगल पे सेवाहरु ग्राहकले प्रयोग गर्न नपाएको जनाएको छ । बैंकहरूमा भिटिबी समूह, सोभकम बैंक, नोभिकम बैंक, प्रोम्सभाइज बैंक र ओटक्रिटिइमा विभिन्न प्रतिबन्धहरु लगाइएका छन् ।‘ती बैंकका ग्राहकहरूले विदेशमा आफ्नो कार्ड प्रयोग गर्न वा प्रतिबन्ध जारी गरेका देशहरूमा दर्ता भएका कम्पनीहरूलाई अनलाइन भुक्तानी गर्न सक्ने छैनन्’ केन्द्रीय बैंकले भनेको छ ।

Ad