बैंकिङ खबर । डिजिटल धुक्तानी सेवा प्रदायक दुई ठूला कम्पनीबीच साझेदारी भएको छ। यस कार्यले क्यूआर पेमेन्टमा सहजीकरण गरेको छ । पछिल्लो समय क्यूआर भुक्तानीका ग्राहकहरु बढेका छन्। पछिल्ला दिनमा नेपालमा डिजिटल कारोबारमा काम गरिरहेका संस्थाहरुबीच अन्तर आबद्धता कायम गर्ने क्रम बढिरहेको छ।
यसैक्रममा नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेड र प्रभु टेक्नोलोजिजबाट सञ्चालित प्रभुपेबीच सहकार्य भएको छ । अन्तरआवद्धता सम्बन्धी बुधवार एक कार्यक्रमका बीच यस्तो सहकार्यको जानकारी दिइयो। यस सहकार्यसँगै अब प्रभुपे फोनपे नेटवर्कमा आबद्ध भएको छ ।
अबदेखि प्रभु पेका ग्राहकले फोनपेको क्यूआर मार्फत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस सहकार्यले नेपालको डिजिटल कारोबारमा ठूलो उपलब्धी हुने अपेक्षा गरिएको छ । कार्यक्रममा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले नियामक निकाय राष्ट्र बैंकले एक आपसमा अन्तरआद्धताका लागि निर्देश गरिरहेको अबस्थामा यस सहकार्यले डिजिटल कारोबारमा थप सहज हुने बताउनुभयो ।
‘हामी सबै कम्पनीको लडाई भनेको नगद कारोबारसँग हो, प्रभुसँगको सहकार्यले क्यासलेस अर्थतन्त्र निर्माण गर्ने हाम्रो समान उद्देश्यमा थप मद्दत पुग्नेछ ।’ उहाँले भन्नुभयो । यस्तै कार्यक्रममा प्रभु पेका प्रमुख कार्यकारी अधिकृत बिकी शाहीले फोनपेसँगको यस सहकार्यले नेपालको डिजिटल यात्रामा थप सहजता हुने बताउनुभयो । ‘हामी डिजिटल कारोबारका लागि धेरै किसिमका सहकार्य गरेर अगाडी बढ्नुपर्छ डिजिटल नेपालको परिकल्पनामा यस कार्यले सहयोग गरेको छ ।’ उहाँले भन्नुभयो ।
दुई वर्ष अगाडि स्थापना भएको फोनपेमा हाल ५ लाख ६० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोन पेमार्फत कारोबार गर्दै आएका छन् । दुईवर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।
फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसी आइडि एसएस भि थ्रि टु वान प्रमाणीकरण प्राप्त संस्था हो । प्रभु समुह अन्तरगत रहेको प्रभुपेले पछिल्ला दिनमा डिजिटल कारोबारलाइ अगाडी बढाइरहेको छ । हाल यस कम्पनीका ७ लाख भन्दा धेरै ग्राहक रहेका छन् । प्रभुपे मार्फत मोबाइल र टिभी रिचार्ज, हवाइ टिकट, मुभी टिकट लगायतका सेवाका साथै थुप्रै सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदान प्रदान गर्न सकिन्छ ।
