
बैंकिङ खबर/ काठमाडौं उपत्यकाको ७ ठाउँमा ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम मेसिनबाट तिर्ने ब्यवस्था मिलाइएको छ। प्रभु–पेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने छ। यसअघि यो व्यवस्था महानगरीय ट्राफिक प्रहरी महाशाखामा चालु भैँसकेको छ।
आइतबार देखि मातहतका महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघर, महानगरीय ट्राफिक प्रहरी प्रभाग थापाथली, महानगरीय ट्राफिक प्रहरी वृत्त मालीगाउँ र महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा विस्तार गरेको छ।
महानगरीय ट्राफिक प्रहरी परिसर सातदोवाटोमा आयोजित एक कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशी र प्रभुपेका अध्यक्ष कुसुम लामाले संयुक्त रुपमा रिबन काटी ‘प्रभु–पेको किअस्क मेसिन’ उद्घाटन गरेका छन्।
कार्यक्रममा बोल्दै जोशीले ट्राफिक नियम उल्लंघन गरेबापत सवारी प्रयोगकर्ताहरूले जरिवाना तिरी आफ्नो कागजपत्रहरु फिर्ता लिन सरल एवं सहज होस् भन्ने उद्देश्यले प्रभु बैंकको सहकार्यमा नयाँ प्रविधि मातहतका ७ वटा कार्यालयहरुमा विस्तार गरिएको बताए।