Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

घर जग्गामा बैंकहरुको लगानी बढ्याे

२०७८ मंसिर १८ गते

बैंकिङ खबर/ पछिल्लो समय बैंकहरुले घरजग्गामा कर्जा लगानी बढाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो ३ महिनाको अवधिमा बैंकहरुले घरजग्गामा १२ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन्।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले यस क्षेत्रमा १ खर्ब ७१ अर्ब ४१ करोड रुपैयाँ लगानी गरेका छन्। गत वर्षको अन्त्यसम्म यस्तो लगानी १ खर्ब ५९ अर्ब रुपैयाँ थियो। बैंकहरुले गत एक महिनामा घरजग्गामा कर्जा ३ प्रतिशतभन्दा धेरैले बढाएका छन्। भदौ अन्तिमसम्ममा १ खर्ब ६५ अर्ब ६४ करोड रुपैयाँ कर्जा रियल स्टेट क्षेत्रमा लगानी गरेको पाइएको छ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकहरुले रियल स्टेट क्षेत्रमा १ खर्ब ४१ अर्ब रुपैयाँ मात्रै लगानी गरेका थिए। एक वर्षको अवधिमा यस्तो कर्जा १२.५२ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकको तथ्यांक अनुसार असोज मसान्तसम्ममा २७ वाणिज्य बैंकमध्ये रियल स्टेट क्षेत्रमा एनआइसि एशिया बैंकको लगानी सबैभन्दा धेरै १५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ। नबिल बैंकको पनि १४ अर्ब ३४ करोड, राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब ८८ करोड, प्राइम कमर्शियल बैंकको १२ अर्ब ३४ करोड र मेगा बैंकको ११ अर्ब ७० करोड रुपैयाँ लगानी रहेको छ।

वाणिज्य बैंकहरुमध्ये नेपाल क्रेडिट एण्ड कमर्श बैंकको भने रियल स्टेट क्षेत्रमा सबैभन्दा कम १ अर्ब २९ करोड रुपैयाँ लगानी रहेको छ। यस्तै कृषि विकास बैंकको पनि १ अर्ब ३० करोड रुपैयाँ, कुमारी बैंकको १ अर्ब ४९ करोड रुपैयाँ र नेपाल बंगलादेश बैंकको १ अर्ब ६९ करोड रुपैयाँ लगानी रहेको छ।

गत असोज महिनामा वाणिज्य बैंकहरुमध्ये सेञ्चुरी कमर्शियल बैंकले यस क्षेत्रमा लगानी सबैभन्दा धेरै १ अर्ब ६८ करोड रुपैयाँले बढाएको छ भने सिभिल बैंकले १ अर्ब ४९ करोड, हिमालयन बैंकले १ अर्ब ४५ करोड र लक्ष्मी बैंकले १ अर्ब १ अर्ब ३३ करोड रुपैयाँले बढाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले चालु आर्थिक वर्षको पहिलो ३ महिनामै डेढ करोड रूपैयाँसम्मको आवासीय घर निर्माणको लागि दिइने कर्जा मात्रै ८ अर्ब ३ करोड रुपैयाँ प्रवाह गरेका छन् ।

गत वर्षको अन्तिमसम्ममा २ खर्ब ४८ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेकोमा असोज मसान्तसम्ममा २ खर्ब ५७ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । गत असोज १ महिनामै यस्तो कर्जा ४ अर्ब ९२ करोड रुपैयाँ लगानी गरेका छन् । भदौ अन्तिमसम्ममा २ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले एक महिनाको अवधिमा १.९५ प्रतिशतले बढाएका छन् ।