डिजिटल कारोबारलाई सुरक्षित बनाउन कसको भूमिका कति ?


Bankingkhabar /September 30, 2021

खडक रोकाया / पछिल्लो समय डिजिटल बैंकिङको अबधारणा महत्वपूर्ण मानिएको छ । कोभिडकै कारण डिजिटल कारोबारमा बृद्धि भएको भन्न सकिन्छ । विस्तारै कुनै दिन कारोबार क्यासलेससम्म पुग्ने छ ।

नेपाल सरकारले पनि डिजिटल कारोबारलाई प्रोत्साहित गर्न डिजिटल नेपाल फ्रेमवर्क २०७६ सार्वजनिक गरेको छ, उक्त डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत रहेको ८ वटा क्षेत्रहरु मध्ये एक महत्वपूर्ण क्षेत्रको रुपमा वित्तीय क्षेत्र पनि समावेश छ । जहाँ “डिजिटल नेपालका पहलले वित्तीय क्षेत्रलाई प्रोत्साहित गर्न डिजिटल प्रविधि तथा टेलिकमका प्रविधिबाट लाभ लिदै बैकिङ संञ्जालमा आवद्ध नभएका जनतालाई लक्षित गरेको छ । वित्तीय मध्यस्थता र वित्तीय लागत कम गर्ने प्रायोजनका लागि वित्तीय समावेशिता तथा आर्थिक समृद्धि बीच बलियो सम्बन्ध रहेकाले फिनटेकको प्रयोगबाट बैंकमा आवद्ध नभएका ५५ प्रतिशत जनतामा वित्तीय सेवाको पहुँच पुर्याउने, वित्तीय प्रणलीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने र कर प्रणालीलाई लागत कम गरी स्वेच्छिक कर सहभागिता प्रवद्र्धन र राष्ट्रिय राजश्वको संरक्षण गर्ने उदेश्य लिइएको छ ।” उल्लेख गरिएको छ ।

अहिले दैनिकजसो बैंक तथा बित्तिय संस्थाहरुले डिजिटल कारोबार गर्न आफ्ना सेवाग्राही लाई आग्रह गरिरहेका छन । साथै प्रबिधिमैत्री समाज निर्माण गर्ने यो उपयुक्त अवसर पनि हो । तर नेपालको बैंकिङ क्षेत्रले प्रयोग गरेको प्रबिधिले बेला बेलामा क्षति र आलोचना बेहोरेको पनि तितो यथार्थ हो । बैंकिङ क्षेत्र अरु क्षेत्र भन्दा बढी नै संबेदनशील क्षेत्र हो । आन्तरिक तथा बाह्रय जोखिम दुबैलाई न्युनीकरण गर्न निकै ठुलो लगानी पनि हुने गरेको छ । तर बिश्वकै ठुला र उच्च स्तरको प्रबिधि प्रयोग गरेका बैंकहरु पनि नराम्रोसँग लुटिएका उदाहरण पनि छन । त्यसमा बैंकको मात्रै दोष हुँदैन बिभिन्न पक्षहरुको भुमिका महत्वपुर्ण हुन्छ ।

सेवाग्राहीको भुमिका
बैंकको महत्वपुर्ण पक्ष भनेको ग्राहक हो । ग्राहक बिना बैंकहरुको कल्पना गर्न सकिँदैन । बैंकले आफ्नो सफलता लाई ग्राहकको सुरक्षा र सेवा संग जोडेको हुन्छ । सेवा सहज बनाउन प्रबिधि प्रयोग हुन्छ जसले गर्दा सेवाग्राही आफैले आफुले चाहेको बखत सेवा उपभोग गर्न सक्छन । त्यसको लागि बैंकले आफ्नो सिस्टम संग जोडिन केही अनुमति दिएको हुन्छ जस्तै मोबाईल बैंकिङ, डेबिट कार्ड, त्रेडिट कार्ड, ईन्टरनेट बैंकिङ, पासकोर्ड आदी । यी सबै सेवाको लागि बैंक खातासंग जोडिनु पर्ने हुन्छ । त्यसैले यी अनलाईन सेवा लिदा सेवाग्राहीले सुरक्षित रहेर कारोबार गर्नुपर्ने हुन्छ ।

– आफुले अनलाईन सेवा लिईसकेपछि अनिवार्य रुपमा लगआउट गर्ने ।
– आफ्नो ब्यक्तिगत बिवरण तथा बैंक खाताको बिवरण अरुलाई नदिने ।
– आफ्नो डेबिट क्रेडिट कार्ड हराएमा तुरुन्त बैंकमा खबर गरि ब्लक गराउने ।
– आफ्नो पिन कोड तथा पासवर्ड अरुलाई थाहा नदिने ।
– अनलाईन जागिर, चिठ्ठा सम्बन्धी फोन तथा ईमेल मार्फत बैंक खाता बिवरण नदिने ।

कर्मचारीको भुमिका
बैंकहरुमाथि साईबर हमला गर्न सबैभन्दा सजिलो पात्र भनेको त्यही बैंकका कर्मचारी मानिन्छन । धेरै सुचना तथा जानकारी प्राप्त गर्न कर्मचारी लाई ईमेल गरेर बिभिन्न जानकारी प्राप्त गर्दछन । कहिलेकाही सिनियर कर्मचारीकै नामबाट ईमेल पठाएर झुक्याएर फाईल खोल्न तथा रिप्लाई गर्न बाध्यात्मक अवस्था बनाउछन । ईमेल सर्भरमा छिरेर पछि मेन सर्भरमा छिर्ने बाटो बनाउछन र आफ्नो उद्घेश्य पुरा गर्छन ।

  • आफ्नो अफिसियल क्रेडिन्सियल एकदमै सुरक्षित राख्ने ।
  • अनावश्यक र अपरिचित नामबाट आएका ईमेल फाईल नखोल्ने र तुरुन्त डिलिट गर्ने ।
  •  आफुले प्रयोग गर्ने कम्प्युटर तथा ल्यापटप सुरक्षित राख्ने ।
  • बिभिन्न सिस्टममा लगईन गरेर काम सकेपछि अनिवार्य लगआउट हुने ।
  • शंकास्पद ईमेल तथा अन्य सुचनाहरुको जानकारी माथिल्लो तहमा जानकारी गराउने ।

बैंकको भुमिका
बैकहरुको आफ्नै डेडिकेटेड आईटी टिम हुन्छ साथै धेरैजसो बैंकहरुको आईएसओ पनि हुन्छ । जसले बैंकहरुको टेक्निकल पक्षको ब्यवस्थापन गर्छ । बिकास गर्ने, संभार गर्ने तथा सुरक्षा गर्ने काम आईटीको हुन्छ । बैंकले प्रयोग गर्ने प्रबिधि लाई सुरक्षित गर्न बिभिन्न नीति नियम बनाएर आन्तरिक रुपमा सबल संचालन गर्नुपर्ने हुन्छ । सिस्टम अडिट अहिले अनिवार्य भईसकेको अवस्थामा प्रभावकारी रुपमा कार्यान्वयन गर्दा पनि जोखिम कम गर्न सकिन्छ । आफ्नो बिभिन्न सेवाको लागि अन्य भेन्डरहरुको सुरक्षा ब्यवस्थापनमा पनि ध्यान दिनुपर्ने हुन्छ । आवश्यक बाहेकका वेबसाईटहरुको पहुच बन्द गर्ने । नियमित रुपमा आफ्नो सर्भरका कम्प्युटरहरुको अनुगमन गर्ने । ब्यबसायीक निरन्तरता योजनाका आईटी सम्बन्धित नियमहरुको प्रभावकारी कार्यान्वयन पनि महत्वपुर्ण पक्ष हो ।  सुरक्षित रहौं, सुरक्षित कारोबार गरौं, कोभिड १९ महामारीको मिलेर सामना गरौं । लेखक बैंकर हुन् । 


सोसिअल मेडिया